वित्तीय साक्षरता तथा वर्तमान सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम | बैशाख १९, २०८३

वित्तीय साक्षरता तथा वर्तमान सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम | बैशाख १९, २०८३

१९ बैशाख, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को बचत उपसमितिको आयोजनामा वित्तीय साक्षरता तथा वर्तमान सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सदस्यहरुलाई वित्तीय चेतना प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै धेरै बचतकर्ताहरुले आफुले बचत गर्ने संस्थाबारे जानकार नभई बचत गर्नाले आफ्नो बचत धरापमा पर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले चेतनामूलक एवं अन्तरक्रिया कार्यक्रमहरुमा सदस्यहरुको चासो नदेखिएको भन्र्नुहुँदै ती कार्यक्रममा सहभागी बन्दा आफ्नो बचत सुरक्षित गर्न आवश्यक ज्ञान आर्जन हुने हुँदा ती कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।

कार्यक्रमका सभापति उपसमिति संयोजक एवं संस्थाका सञ्चालक सदस्य कृष्ण गोविन्द लाखाजुले हरेक सहकारी संस्थाहरुले नियमित वित्तीय साक्षरता कार्यक्रम अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउँदै सानो सानो समूहमा साक्षरता एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दा कार्यक्रम बढि प्रभावशाली हुने बताउनुभयो । उहाँले धन र पैसाको व्यवस्थापन गर्ने ज्ञान नै वित्तीय साक्षरत हो भन्नुहुँदै सो ज्ञानको अभावले वित्तीय समस्यहरु निम्त्याउने उल्लेख गर्नुभयो ।

उहाँले आफु संग भएको पैसा बचत गर्ने स्थानकोे ज्ञान नभए आफ्नो पैसा फस्न सक्ने बताउँदै सहकारी संस्था र बैंक बिचको भिन्नता बारे प्रकाश पार्नुभयो । बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्य सदस्यहरुबाट संकलन गरेको बचत सदस्यहरुलाई ऋण स्वरुप प्रदान गरी सदस्यहरुको आर्थिक स्थिति विकास गर्नु हो, उहाँले भन्नुभयो । उहाँले सहकारी संस्थाहरुले सदस्यहरुलाई आम्दनी बाट बचत छुटाए पछि मात्र खर्च गर्ने बानी सिकाउनुपर्नेमा जोड दिनुहुँदै नियमित बचत गर्ने बानीले भविष्यमा वित्तीय रुपमा सुरक्षित रहने उल्लेख गर्नुभयो ।

हाल देशमा ३२ हजार सहकारी संस्थाहरुमा १ करोड ९ लाख ७५ हजार सदस्यहरु आबद्ध रहि देशको वित्तीय क्षेत्रमा १६ प्रतिशतको योगदान र ९० हजार भन्दा बढिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको जानकारी दिनुहुँदै सहकारी क्षेत्रको सुरक्षा र विकासको लागि सबै निरन्तर अग्रसर रहनुपर्छ, उहाँले भन्नुभयो । उहाँले हाल सहकारी क्षेत्रमा देखा परेको विकृतीहरुको निरक्षण र निवारण गर्न साथै सहकारी क्षेत्र विकास गर्न विभिन्न समयमा सहकारी ऐन संसोधन हुँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाको पृष्ठभुमिबारे प्रस्तुति दिनुहुँदै स्थापना काल देखि संस्था नीति नियम पालना गरी सञ्चालन हुँदै आएको हुनाले संस्था स्थापना भएको तेस्रो वर्षमा नै नमूना सहकारीको रुपमा पुरस्कृत भएको जानकारी दिनुभयो । उहाँले अनुभवी सञ्चालक एवं दक्ष कर्मचारीहरुका कारण बजारमा विभिन्न समस्या आएको अवस्थामा पनि संस्थामा कुनै समस्या नरहेको उल्लेख गर्नुभयो । उहाँले कानूनको परिपालना गरी संस्था राष्ट्रिय सहकारी नियमन प्रधिकरण र कर्जा सूचना केन्द्रमा समेत दर्ता भई सकेको जानकारी दिनुभयो ।
कार्यक्रममा उपसमितिका सचिव चिरी मैँया लाखाजु र सदस्य सुन्दर मानन्धरले पनि बोल्नुभएको
थियो ।