अनिवार्य शिक्षा शिविर सम्पन्न । बैशाख १९, २०८३

अनिवार्य शिक्षा शिविर सम्पन्न । बैशाख १९, २०८३

१९ बैशाख, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजना तथा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यमा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि भनपा ७ का वडाध्यक्ष उकेश कवांले सदस्यहरुले सहकारी संस्था व्यवस्थित र सहज रुपमा अघि बढाउन सहयोग गर्नुपर्ने बताउँदै सहकारी संस्थाहरुले शिक्षा शिविरहरु सञ्चालन गरी सदस्यलाई सचेत नगर्नु नै सहकारी संस्था समस्यामा पर्नुको कारण रहेको उल्लेख गर्नुभयो । घर जग्गा तथा शेयर लगानी जस्ता अनुत्पादनमूलक क्षेत्रमा सदस्यहरुको बचत लगानी गर्नाले सहकारी संस्थाहरु समस्यामा परि रहेको छ , उहाँले थप्नुभयो । उहाँले हाल बैंक वित्तीय संस्थाहरुमा थन्कि रहेका तरल रकमको सदुपयोग उद्योग, कल कारखानाको स्थापना गरी रोजगारी श्रृजना गर्नु आजको आवश्यकता रहेको बताउँदै सरकारले पनि आयात गर्ने संस्थाहरुलाई पुरस्कृत गर्नुको सट्टा उद्योग कल कारखानाका सञ्चालकहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो ।

उहाँले वर्तमान सरकारको हप्तामा दुई दिन बिदा दिने निर्णयले सिकाई र अध्ययनको अधिकारमा असमानता हुने साथै न्यून आय भएका जनताले बाध्य भएर महंगो अस्पतालहरुमा सेवा लिनुपर्ने अवस्था श्रृजना हुने बताउनुभयो । वर्तमान सरकारले अमेरिकी नीति अनुसरण गर्दै अघि बढि रहेको छ जसले धनी झन धनी र गरिब झन गरिब बन्दै जानेछ, त्यसले देशमा ठुलोे दुर्घटना निम्त्याउने सम्भावना बढाएको छ , उहाँले भन्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले नेपालमा बि.स. २०१३ साल चैत्र २० गते बखानपुर ऋण संस्थाका स्थापना संगै सहकारी संस्थाहरुको औपचारिक सुरुवात भएको चर्चा गर्नुहुँदै सिद्धि गणेश साकोस स्थापना काल देखि नै अन्तराष्ट्रिय सहकारी सिद्धान्तहरुको पालना गरी सञ्चालन हुँदै आएको हुनाले संस्था स्थापना भएको ३२ वर्ष सम्म पनि कुनै समस्या नआएको उल्लेख गर्नुभयो । साथै संस्थाले स्थापनाकाल देखि नै शिक्षा शिविरमा सहभागी गराई मात्र सदस्यता वितरण गर्ने असल अभ्यासलाई नियमन निकायहहरुले सदस्य बनाउन पूर्व अनिवार्य शिक्षा शिविर सहभागी गराउने नीति नियम ल्याएको छ, उहाँले भन्नुभयो ।

उहाँले सहकारी संस्थाका सदस्यहरुको अधिकार र दायित्वबारे चर्चा गर्नुहुँदै अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्नु सहकारी संस्था समस्यामा पर्नुको मुख्य कारण रहेको बताउनुभयो । उहाँले संस्थाका हरेक सदस्यहरुलाई सहकारीताबारे सचेत गर्दै जानुपर्ने आवश्यकता औल्याउँदै सदस्यहरुमा बचत गर्ने वानी विकास गराई स्वावलम्वी र आत्मनिर्भर बनाउनु र उचित ब्याज दरमा ऋण लगानी गरी रोजगारी तथा आर्थिक अवसरहरु श्रृजना गर्ने संस्थाको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले विगतमा स–साना रकमको लागि पनि साहुमहाजन संग ऋण लिई सो को साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँदै आएको बताउनुभयो । व्याजको प्रलोभनमा परि खरब सहकारी संस्थामा बचत गर्नु नै बचतकर्ताहरुको बचत फस्नुको कारण हो, उहाँले भन्नुभयो । उहाँले संस्थाको पृष्ठभभुमिको जानकारी सम्बन्धी प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई तथा शिक्षा उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।