हालको वित्तीय बजारमा सहकारीको अवस्थाबारे र सम्पत्ति शुद्धीकरण सम्बन्धी ऋणी र सदस्यहरुलाई जानकारी एवं छलफल कार्यक्रम | १० जेठ, २०८२

हालको वित्तीय बजारमा सहकारीको अवस्थाबारे र सम्पत्ति शुद्धीकरण सम्बन्धी ऋणी र सदस्यहरुलाई जानकारी एवं छलफल कार्यक्रम | १० जेठ, २०८२

१० जेठ, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को ऋण उपसमितिको आयोजनामा हालको वित्तीय बजारमा सहकारीको अवस्थाबारे र सम्पत्ति शुद्धीकरण सम्बन्धी ऋणी र सदस्यहरुलाई जानकारी एवं छलफल कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सिद्धि गणेश साकोस नीति नियमको पालना गरी सञ्चालन हुँदै आएको चर्चा गर्नुहुँदै अद्यादेश मार्फत सहकारी ऐन २०७४ मा भएका विभिन्न परिवर्तन बारे जानकारी दिनुभयो । उहँले संस्था राष्ट्रिय सहकारी नियमन प्रधिकरण र कर्जा सूचना केन्द्रमा दर्ता भई सकेको जानकारी दिनुभयो ।

अध्यक्ष लाखाले सुसाशन नभएको सहकारी संस्थामा समस्या हुने बताउँदै संस्थाका सञ्चालक एवं कर्मचारीहरुले सुसाशनमा रहि कार्य गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सदस्यहरुलाई ऋणी मात्र नभई उद्यमी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं कार्यक्रम सहजकर्ता कृष्ण गोविन्द लाखाजुले ऋण अधिकार होइन, सुविधा मात्र हो जुन समयमै चुक्ता गर्नुपर्ने बताउँदै ऋण स्वनिर्भर र सम्मानित जिवनका लागि हो भन्नुभयो । उहाँले भाखा नघेको ऋणको कारण ऋण सुरक्षण कोषको व्यवस्था गर्नुपर्ने बताउदै सो कोषको व्यवस्थाले संस्थाबाट वितरण हुने लाभांशमा प्रत्यक्ष असर गर्ने उल्लेख गर्नुभयो ।

उहाँले हाल वित्तीय बजारमा ३२ हजार ९५६ सहकारी संस्थाहरु रहेको जानकारी दिनुहुँदै देशको अर्थतन्त्रमा १६% सहकारी क्षेत्रको योगदान रहेको उल्लेख गर्नु भयो । उहाँले बजारका समस्या ग्रस्त सहकारीको कारणले बचतकर्ता मात्र नभई ऋणीहरुलाई समेत समस्या परेको बताउँदै समस्यामा परेका सहकारीहरुको ऋण असुल गर्न कडा नीति, नियम जारी गरिएको जानकारी दिनुभयो । उहाँले कार्यक्रममा सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रस्तुति दिनुहुँदै सोको कार्यान्वयन नगरे लाग्ने जरिवानाबारे पनि जानकारी दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं ऋण उपसमिति संयोजक राम चन्द्र दुमरुले ऋणी तथा सदस्यहरुलाई बजारको वित्तीय अवस्थाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउदै संस्थाको ऋणी नीति र सुविधाहरुमा भएका संसोधनहरुबारे जानकारी दिनुभयो । उहाँले संस्थामा उपलब्ध विभिन्न ऋण सुविधाहरुबारे जानकारी दिनुहुँदै सो सुविधाहरुको ऋण सिमाबारे चर्चा गर्नुभयो । उहाँले संस्थाबाट (ई.भि.) विद्युतिय गाडीहरुमा पनि ऋण लगानी हुने बताउनुभयो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।