नव वर्ष २०८३ साल एवं बिस्काः जात्राको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न । २८ चैत्र, २०८२
२८ चैत्र, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको आयोजना तथा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा नव वर्ष २०८३ साल एवं बिस्काः जात्राको शुभकामना आदान प्रदान कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले आर्थिक ऐजेन्डा र बैदेशिक मामिला फरक भए मात्र पाटी अलग हुने बताउँदै हालको नयाँ सरकार पनि पुराना सरकारका कार्यहरुबाट बिछेद नहुने र पुराना कार्यहरुलाई निरन्तरता प्रदिन गरिने भन्नुभयो । उहाँले पुँजीवादी व्यवस्थामा केहि संख्या संग मात्र सम्पति हुने र धेरै संख्यामा मनिसहरु गरिब हुने भएकोले निरन्तर रुपमा आर्थिक संकतहरु आई रहने बताउँनुभयो । बैंक वित्तीय संस्थाहरुमा तरलताको सम्स्या रहेको अवस्थामा राम्रो सरकारले मात्र ति संस्थामा रहेको रकम विकास कार्यमा लगानी गर्न सक्छ उहाँले भन्नुभयो ।
उहाँले वास्तविकता नबुझेका र ज्ञान नभएका मानिसले मात्र विवद गर्ने बताउँदै सहकारी संस्थाहरु आर्थिक कारेवारमा मात्र सिमित नरही सदस्यहरुलाई देश विदेशका गतिविधिबारे जानकार गर्न नियमित सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो । साथै चेतनाको कमी हुँदा नेपालमा गत भाद्र २४ गते युवाहरुले देशको झण्डा बोकी देश जलाएको तर सचेत इरानी जनताले अमेरिकाको चेतावनीको सामना गरी देशको झण्डा बोकी देशको रक्षा गरेको उहाँले बताउनुभयो । उहाँले नियमित छलफल मार्फत हाल सहकारी क्षेत्रमा भई रहेका ठगीहरु रोक्न सुझाव प्रदान गर्न सकिने भन्नुहुँदै निरन्तर देशको अवस्थाबारे अध्ययन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले जनतालाई सचेत गर्न र राम्ररी बुझाउन नसक्नुका साथै चुनावमा स्थानिय स्तरमा सक्रिय बन्न नसक्नु नै गएको चुनावमा अनुकुल परिनाम आउनुको मुख्य कारण रहेको बताउनुभयो । साथै नयाँ पुस्तालाई राजनीतिक सचेतना प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले राष्ट्रिय सहकारी नियमन प्रधिकरणबाट विभिन्न निर्देशनहरु जारी भएको जानकारी गराउँदै संस्था ति निर्देशनहरुको पालना गरी अरु सहकारी संस्थाभन्दा फरक तवरबाट अघि बढ्दै जानुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिका अन्र्तगत १५३ वटा सहकारी रहेको जस मध्य दुई तिनवटा संस्था मात्र आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न जग्गामा लगानी गर्दा समस्य परेको बताउनुभयो । उहाँले नयाँ हुँदैमा सबै राम्रो नहुने बताउँदै सदस्यहरुलाई सुशासन नीति नियमबारे सचेत गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले भक्तपरमा नेपाल मजदुर किसान पार्टीका सुझाव र उपदेशहरु नभएको भए हाल भक्तपुर नगरमा पनि सहकारी क्षेत्रमा धेरै समस्याहरु देखिने बताउनुभयो । उहाँले सहकारी मार्फत सदस्यहरुको बचत परिचालन गरी सदस्यहरुलाई उद्यमी बनाउँदै जानुपर्ने बताउँदै अनुत्पादक क्षेत्रमा लगानी गर्दा सहकारी संस्था समस्यामा पर्ने उल्लेख गर्नुभयो । उहाँले व्यक्तिगत स्वार्थको लागि सहकारी संस्थामा अवद्ध हुन नहुने सहकारी बनाउनमात्र यसमा लग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सचिव विष्णु प्रसाद दुमरुले संस्थाबाट आयोजित विभिन्न कार्यक्रमहरुको जानकारी दिनुहुँदै संस्था राष्ट्रिय सहकारी नियमन प्रधिकारणमा र कर्जा सुचना केन्द्रमा दर्ता भई सकेको बताउनुभयो । साथै सदस्यहरुको स्वास्थ्य समस्याहरुको उपचारका लागि नियमित रुपमा आर्थिक सहयोग प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले संस्थामा २५ करोड ४३ लाख शेयर पूँजी, २७ करोड ५८ लाख जगेडा कोष, २ अर्ब ७० करोड ८ लाख कूल बचत, १ अर्ब ९४ करोड ६२ लाख र ३ अर्ब ३७ करोड १ लाख कूल सम्पत्ति रहेको वित्तीय जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक सदस्य कृष्ण गोविन्द लाखाजुले सिद्धि गणेश साकोस सुसाशनले सञ्चालन हुँदै आएको बताउँदै इमानदारिता र राम्रो कार्य शैलीले जस्तो सुकै परिस्थितमा पनि संस्थामा समस्या नआउने बताउनुभयो । उहाँले संस्थाबाट सुरु भएका शिक्षा शिविर सञ्चालन तथा सदस्य बनेको ६ महिना अवधि पछि मात्र ऋण प्रदान गर्नु जस्ता असल अभ्यासहरु मथिल्लो निकायहरुले अनुसरण गरी नीति निर्देशनमा समावेस गरेको उल्लेख गर्नुभयो । उहाँले सहकारी क्षेत्रमा बेथिति आउनुमा नियमन निकायको गैर जिम्मेवारी, खराब सञ्चालक सदस्यहरु र सहकारीकर्मीहरुले सदस्यहरुलाई सचेत गर्न नसक्नु हो भन्नुहुँदै ति बेथितिहरुको निवारण गर्न सुझाव संकलन आयोग गठन भएका जानकारी दिनुभयो । उहाँले सदस्यहरुलाई वित्तीय रुपमा सचेत गर्न नियमित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जानुपर्ने आवस्यकता औल्याउनुभयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीले हाल समुदायमा आधारित सहकारी संस्थाहरु पनि समस्यामा पर्ने गरेको बताउँदै निरन्तर रुपमा ती सहकारी संस्थाहरुलाई राम्रा संस्थाका असल अभ्यासहरुबारे सचेत र जानकार गर्दै जानुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले सहकारी सिद्धान्तहरुलाई व्यवहारिक रुपमा लागु गर्न सहकारी संस्थाहरुको नीति नियम निर्माण गर्नुपर्ने बताउँदै देशको हरेक क्षेत्रमा राजनीतिको आवश्यकता महसुस नगरे सम्म देशको प्रगति नहुने विचार व्यक्त गर्नुभयो । साथै विगतका कार्य सम्पादन र वर्तमान कार्यहरुको तुलना गरी कमी कम्जोरी सुधार गरी प्रगति मार्गमा जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक सदस्य राजन लाखाजुले सहकारी संस्थाहरुलाई नकारात्मक सोचले हेरिने वर्तमान अवस्थामा पनि सिद्धि गणेश साकोसले सामाजिक भावनाका साथ समुदायमा आधारित भई उद्धारणिय कार्यहरु गर्दै आएको बताउनुभयो । उहाँले हालै सम्पन्न चुनावमा भक्तपुरका वासिन्दाहरुले नेमकिपाको योगदानहरु बिर्सेर नयाँको खोजी गरेको चर्चा गर्नुहुँदै नयाँको नाममा हरेक नागरिकले आधारभुत कुराहरु बिर्सनु नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक राम प्रसाद लाखाजुले ३२ वर्षको अन्तरालमा बजारमा आएका विभिन्न समस्याहरुको सामना गरी सदस्यहरुको विश्वास जित्न सफल भएकोले संस्था सफल बन्न सकेको उल्लेख गर्नुभयो । साथै संस्थाले समय सापेक्ष रुपमा नीति नियम परिवर्तन गरी समस्यहरु समाधान गर्दै अघि बढुनुपर्ने उहाँले भन्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाइले पनि बोल्नुभएको थियो ।