Manager Message

बचत तथा ऋणको कारोबार गर्ने मुख्य उद्देश्य भए तापनि स्वास्थ्यसम्बन्धी, कृषिसम्बन्धी, विभिन्न सीपमूलक तथा रोजगारीमूलक तालिमहरु, क्षमता अभिवृद्धिका तालिमहरुलगायत विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको विदितै छ । अहिले समय प्रविधिको समय हो र बजारमा वित्तीय सेवा प्रदान गर्ने संस्थाहरु पनि धेरै रहेको अवस्था छ । प्रविधिलाई आत्मसात गर्न सकिएन भने प्रतिस्पर्धी बजारमा टिक्न गाह्रो हुन्छ । त्यसमाथि कानुनको परिपालना अनिवार्य नै छ । संस्था सञ्चालन गर्न मात्र नभई सदस्यहरुलाई समेत प्रविधि र कानुनी साक्षरता दिनुपर्ने आजको आवश्यकता देखिन्छ । संस्थाले प्रविधिमार्फत कारोबार गराउन सिद्धि गणेश मोबाइल बैङ्किङ् सुविधा सञ्चालनमा ल्याएको धेरै वर्ष भए तापनि सो सेवा उपभोग गर्ने सदस्य सङ्ख्या न्यून नै रहेको छ । प्रविधि प्रयोगका केही कमजोरी पक्षहरु छन् तर यति भन्दैमा प्रयोग नै गर्नु हुन्न भन्ने सोच विकास गर्नु गलत हुनेछ । प्रविधि प्रयोग गर्दा केही सावधानी भने पक्कै अपनाउनुपर्ने हुन्छ । प्रविधिको प्रयोगबाट समय बचत गर्न सकिने मात्र नभई आफूलाई परिवर्तित परिवेशसँगै अनुकूल बनाउनु पनि हो । शेयर सदस्य महानुभावहरुलाई संस्थाको मोबाइल बैङ्किङ् प्रयोग गर्नुहुन अनुरोध गर्दछु ।

भविष्यका लागि आज बचत गर्ने बानी विकास गर्ने हेतुले स्थापनाकालदेखि नै नियमित बचत अनिवार्य गर्नुपर्ने अन्यथा नियमित नभएमा जरिवाना लाग्ने संस्थाको नियम रहेको छ । विगतका घटनालाई स्मरण गर्ने हो भने भुकम्प, नाकाबन्दी, कोभिडको समयमा नियमित बचत फिर्ता धेरै भएको संस्थाको वित्तीय विवरणले प्रस्ट देखाउँछ । त्यसैले बचतको शक्तिलाई महसुस गरी यी घटनाहरु भविष्यमा आउने सम्भावना रहेकोले न्यूनतम ६ महिनाको घर खर्च धान्न सक्ने बराबरको रकम बचत गर्नुहुन विशेष अनुरोध गर्दछु । साथै संस्थाका सम्पूर्ण सदस्यहरुले सदस्यता पहिचान फारम अद्यावधिक गरी सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संस्थालाई जारी गरिएको निर्देशन पालना गराउन सहयोग गर्नुहुनेछ भन्ने आशा राख्दछु । कतिपय सदस्यहरुलाई परिवारको कुन व्यक्तिलाई आफ्नो हकवाला राखिएको हो सोबारे जानकारी नभएको पाइएको हुनाले सदस्यता पहिचान फारम अद्यावधिक गर्ने समयमा हकवाला कसलाई मनोनयन गरिएको हो सो विषयमा पनि सुनिश्चित हुन अनुरोध गर्दछु ।

हाल सहकारी क्षेत्रमा निर्देशनको लगातार वर्षा भइरहेको छ । कतिपय निर्देशनले संस्था सञ्चालनमा कठिनाइ मात्र नभई सदस्यहरुको साविकको सेवा सुविधाबाट समेत वञ्चित गर्नुपर्ने अवस्था सिर्जना भएको छ । विभिन्न सामाजिक सञ्जालबाट सदस्यहरुले निर्देशित भएका कानुनहरुको बारेमा जानकारी रहेको अनुमान लगाउन सकिन्छ । सुशासन, पारदर्शिता, इमानदारिता नभएका कतिपय सहकारीहरु समस्याग्रत अवस्था छन् । सदस्यहरुले कुन सहकारी राम्रा र कुन नराम्रा हुन भन्ने छुट्याउन सक्ने क्षमता रहेको महसुस भएको छ । यसको ज्वलन्त उदाहरण हो सहकारीमा सदस्यता बृद्धि हुनु र न्यूनतम ब्याजदर कायम हुँदा पनि बचत बृद्धि भइरहनु । सदस्यको विश्वास जित्न सक्नु नै व्यवस्थापनको ठूलो उपलब्धि हो । सोही विश्वास आगामी दिनमा पनि निरन्तरता रहने विश्वासका साथ व्यवस्थापन सदैव क्रियाशील रहनेछ ।

Contact Details:
+977 9851357381