ज्येष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न । १४ चैत्र, २०८२
१४ चैत्र भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. चोर्चा भक्तपुरको आयोजनामा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाको सभापतित्वमा तथा वरिष्ठ राजनीतिज्ञ एवं नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यमा ज्येष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेंले संस्थामा आवद्ध १०० जना ज्येष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नारायणमान बिजुक्छेंले भाषा राम्ररी नजान्नाले विभिन्न समस्यामा परेको उद्धाहरण दिदै सोही कारणले गर्दा आएका अवसरहरु गुम्ने उल्लेख गर्नुहुँदै सहकारी संस्थाहरुबाट भाषा सम्बन्धी प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्दै जान सुझाव दिनुभयो । उहाँले ज्येष्ठ नागरिकहरुलाई जेरी स्वारी खुवाई नागरिकता लिन भनी दुई चार सही गराउँदा खेत जग्गा नै बिक्री भएको घटना सुनाउँदै कुनै पनि कागजातमा सही गर्नु पूर्व घर परिवार र छरछिमेकीहरु संग सल्लाह गर्नुपर्ने बताउनुभयो । उहाँले अरुको सेवा गरे मात्र आफुले पनि सेवा पाउँने बताउँदै भक्तपुर नगरपालिका स्वास्थ्य, शैक्षिक र सांस्कृतिक रुपमा सुविधा सम्पन्न स्वर्ग जस्तै भएता पनि स्थानियहरुले ती सुविधाहरुको सहि मुल्याङकन गर्न नसकेको विचार व्यतm गर्नुभयो ।
उहाँले सहकारी संस्थाहरुबाट सदस्यहरुलाई भ्रमण लैजान पूर्व भ्रमण स्थलको बारेमा विस्तृत जानकारी गराएमा सो स्थलको स्मरण रहेनमा जोड दिनुभयो । साथै सहकारी संस्थाबाट नियमित शैक्षिक चेतना प्रदान गर्ने कक्षा सुरु गर्नुपर्ने बताउनुभयो ।
आजकल संयुक्त परिवारको कमी नै देखिन्छ । प्राय जसो परिवारहरुमा बच्चाहरु हेर्नेका लागि समय नै नभएको स्कुल पठाउन र लिन पनि समय व्यवस्थापन गर्न कठिन भएकोले इच्छा भएर पनि बच्चा जन्माउन नचाहने प्रवृति बढिरहेको छ जुन परिवारको लागि मात्र नभई समाज र देशकै समस्या हुने बारे जोड दिनु भयो । सो समस्याको बारेमा चर्चा गरी समाधानका लागि सहकारी लाग्नु पर्ने बताउनु भयो । साथै उहाँले ज्येष्ठ नागरिक बस्ने ठाउँ बनाउन विभिन्न प्रकृतिका कार्य गर्न कर्मचारीहरु आवश्यकता पर्ने र अन्य विभिन्न व्यवस्था गर्नु पर्ने भएकोले ती स्थान व्यवस्था गर्न कठिन हुने बताउँदै ती स्थानहरुमा बस्ने ज्येष्ठ नागरिकहरु आफ्नो परिवारको सम्झनाका कारणले गर्दा भित्री मनबाट खुशी बन्न नसकेको भन्नुभयो । साथै ज्येष्ठ नागरिकहरुलाई खुशी गर्न विदेशीएका सन्तानहरुले पैसा मात्र पठाएर नहुने उहाँहरुलाई आफ्नै नाता गोता, छरछिमेकका ज्येष्ठ नागरिकहरु बिच नै बस्ने व्यवस्था मिलाए मात्र ज्येष्ठ नागरिकहरु मनै बाट खुशी बन्ने बताउनु भयो ।
कार्यक्रमका अतिथि भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाबाट प्रदान गरेको घरदैलो नर्सिङ सुविधा, ख्वप अस्पलातबाट प्रदान गर्ने सेवाहरुबारे सल्लाह सुझावहरु प्रदान गर्नुपर्ने आवश्यकता औल्याउँदै सो सेवाहरु सुविधाहरुबारे आएका गुनासोहरुको सुधार गर्दै ख्वप अस्पताललाई राम्रो बनाउँदै लगेको बताउनुभयो । उहाँले आजका आमा बुबा दुबै आफ्नो रोजगारीका कारण ब्यस्त रहने हुँदा नयाँ पुस्तालाई आफ्नो मातृभाषा र असल व्यवहार परिवारका ज्येष्ठ सदस्यहरुले सिकाउन अनुरोध गर्नुभयो ।
उहाँले विगतमा सरकारमा रहेकाहरुले राम्रो काम नगरेको कारण हाल नयाँ प्रधानमन्त्री आएको उल्लेख गर्दै जनतामा हाल आएको नयाँ सरकारले देशलाई कुन दिशामा तिर लग्छ भन्ने अन्योल रहेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिका वडा नं ७ बाट नियमित रुपमा विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन हुँदै आएको बताउँदै यहि चैत्र १७ र १८ गते ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण हुने जानकारी दिनुभयो ।
कार्यक्रमका अतिथि डा. रत्नसुन्दर लासिवाले सहभागी ज्येष्ठ सदस्यहरुलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरुबारे जानकारी दिनुहुँदै निरोगी बन्नका लागि उचित खानपान संगै शारिरीक व्यायाम र खुशी हुन पनि त्यति नै जरुरी रहेको बारेमा जानकारी गराउनु भयो । डा. लासिवाले हाल धिलो विवाह (Late marriage) गर्ने कारणले महिलाहरुमा गर्वधारण गर्न समस्याहरु देखा परेको बताउँदै धिलो गर्वधारणले बच्चाहरुमा डाउन सिन्ड्रोमहरु र अटिजमको समस्याहरु हुने सम्भावना बृद्धि हुने जानकारी दिनुभयो । उहाँले महिलाले धिलो विवाह गर्नुको कारण मध्य विवाह पश्चात उच्च शिक्षा हासिल गर्न कठिन भएको हुनाले हरेक परिवारमा छोरी मात्र नभई बुहारीलाई पनि उच्च शिक्षा प्रदान गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले सिद्धि गणेश साकोसबाट निरन्तर रुपमा भई रहेको ज्येष्ठ सदस्य सम्मान कार्यक्रम सरायिन रहेको र संस्थाबाट सञ्चालित सिद्धि गणेश स्वास्थ्य क्लिनिकबाट नियमित जनरल, दन्त, फिजियोथेरापी एवं मुटुरोग सम्बन्धी स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले ३१ जना युवाहरुको ३१०० रुपैँया सुरु भएको यस संस्था हाल २२ हजार शेयर सदस्य, ज्यष्ठ सदस्य र बाल बचतकर्ताहरुको परिवार बनेको उल्लेख गर्नुभयो । उहाँले ३२ वर्षको अन्तरमा सदस्यहरुलाई अरु वितीय संस्थाहरुमा जान नपर्ने गरी सर्वोत्कृष्ट वित्तीय समाधान गर्ने संस्थाको ध्यय रहेको बताउनुभयो । उहा“ले संस्था आर्थिक क्रियाकलापमा मात्र सिमित नभई विभिन्न सामाजिक क्रियाकलापहरुमा आबद्ध रहेको उल्लेख गर्नुहुँदै संस्थाबाट विभिन्न सिपमूलक तालिमहरु पनि आयोजना गर्दै आएको बताउनुभयो । उहाँले संस्थाको सामुदायिक विकास कोषको रकम भक्तपुर नगरपालिका संग समन्व गरी मुलुक भरका जनताको हितका लागि उपयोग गर्दै आएको उल्लेख गर्नुभयो । हाल सहकारीमा नयाँ नीति, नियमहरु, निर्देशन जारी हुने र सोको परिपालना गर्नुपर्ने विभिन्न कारणहरुले गर्दा सदस्यलाई सेवा दिन तत्पर भएता पनि सोही नीति नियम बाधक बनेको उल्लेख गर्नुभयो ।
अध्यक्ष लाखाले संस्थाबाट उद्यमशिलतालाई प्रथमिकता दिई सुरक्षित ऋण लगानी गर्दै आएको हुनाले संस्था सुरक्षित रहेको बताउनुभयो । उहाँले संस्थाको ऋण असुलीले लाभाशंमा प्रतक्ष असर गर्ने बताउँदै ऋण सुरक्षण कोष व्यवस्था गर्नुपर्ने भएकोले गत आर्थिक वर्षकोे लाभाशं प्रतिशत कम भएको जानकारी दिनुभयो ।
संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले परिवार, छरछिमेकमा सल्लाह नगरी खराब सहकारी संस्थामा बचत गर्दा धेरै ज्येष्ठ नागरिकहरुको बचत डुबेको उल्लेख गर्नुहुँदै फेरी पनि सहकारीबारे पूर्ण जानकारी नलिई बचत गरे फेरी पनि बचत डुब्ने बताउनुभयो । उहाँले संस्थाबाट सदस्यहरुलाई निरन्तर रुपमा विभिन्न सिपमूलक एवं आयमूलक तालिमहरु प्रदान गरी आर्थिक अवसर प्रदान गर्दै आएको बताउनुभयो । उहाँले संस्थाबाट सुरक्षित ऋण लगानी भई रहेको कारण संस्था सुरक्षित रहेको र सदस्यहरुको बचतको जिम्मेवारी संस्थाका सञ्चालकहरुले लिन सक्ने उल्लेख गर्नुभयो ।
संस्थाका सचिव विष्णु प्रसाद दुमरुले कार्यक्रम सञ्चालन गर्नुहुँदै नयाँ पुस्तामा कुर्ने धर्यता नभएको कारण भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालबाट प्रवाह भएका स्वास्थ्य सेवाहरु राम्रो हुँदा हुदै पनि गुनासो रहने गरेको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले संस्थामा २५ करोड ४३ लाख शेयर पूँजी, २७ करोड ५८ लाख जगेडा कोष, २ अर्ब ७० करोड ८ लाख कूल बचत, १ अर्ब ९४ करोड ६२ लाख र ३ अर्ब ३७ करोड १ लाख कूल सम्पत्ति रहेको जानकारी दिनुभयो जसमा ५३ करोड बचत ज्येष्ठ सदस्यहरुको रहेको बताउनुभयो ।
संस्थका व्यवस्थापक शिला गोसाईले ज्येष्ठ सदस्यहरुलाई कुनै पनि कागजात सहि गर्नु पूर्व वा पैसाको कारोबार गर्नु पूर्व परिवारमा सल्लाह गरी कागजात राम्ररी अध्ययन गरी मात्र कारोबार गर्न सचेत गर्नुभयो । उहाँले ज्येष्ठ सदस्यहरुले आफ्नो हकवाला राख्ने विषयमा प्रस्ट हुनु पर्नेमा जोड दिनुभयो । संस्थाबाट सञ्चालित सिद्धि गणेश स्वास्थ्य क्लिनिकबाट उपलब्ध सेवाहरुबारे जानकारी दिनुहुँदै ज्येष्ठ सदस्यहरुको सु–स्वास्थ्य, दिर्घायु र सुखद जिवनको कामना गर्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।
सो कार्यक्रममा ज्येष्ठ सदस्यहरुको निशुल्क मुटुरोगको उपचार लगायत जनरल स्वास्थ्य परीक्षण गरी निशूल्क औषधी वितरण पनि गरिएको थियो ।