नारी दिवसको अवसरमा कानून सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न । २४ फागुन, २०८२
२४ फागुन, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको आयोजनामा नारी दिवसको अवसरमा कानून सम्बन्धी साक्षरता कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले बेलायतबाट उपभोक्ता सहकारीको थालनी भएको र बचत तथा ऋण सहकारी संस्थाको थालनी जर्मनबाट भएको जानकारी दिनुभयो । उहाँले सहकारी संस्थाको उद्देश्य बचत तथा ऋण कारोबारमा मात्र नभई सदस्यहरुलाई सचेत गर्ने पनि सहकारी संस्थाहरुको जिम्मेवरी रहेको बताउनुभयो । उहाँले सदस्यहरु यस किसिमका कार्यक्रममा सहभागी हुँदा सहकारी सम्बन्धी कानूनबारे जानकारी हुने बताउँदै शिक्षा मूलक कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सदस्यहरुको विश्वास र संस्थाका सञ्चालक तथा कर्मचारीहरुको इमानदारिताको कारणले संस्था सफल बन्न सकेको उल्लेख गर्नुहुँदै ऋणको साँवा व्याज समयमै भुक्तानी नहुँदा संस्थाको लाभाशंमा प्रत्यक्ष असर गर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक रत्नश्वरी चवालले नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन रहेको बताउनुभयो । उहाँले महिलाले समाजमा आफ्नो अधिकारको लागि आफै लड्नु पर्नेमा जोड दिनुहुँदै देश र समाजबारे सचेतना फैलाउन महिलाको पनि जिम्मेवारी रहने बताउनुभयो । साथै परिवारका महिला शिक्षित भए पुरै परिवार नै शिक्षित बन्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका सहजकर्ता अधिवक्ता राजु कैटीले सदस्यहरुलाई शिक्षा प्रदान गर्नु सहकारी सिद्धान्त रहेको तर ९० प्रतिशत सहकारी संस्थाले शिक्षा प्रदान गर्ने कार्य आफ्नो स्वार्थ पुरा गर्न नगरेको उल्लेख गर्नुभयो । नाफाको लागि बचत लगानी गर्न अन्य वित्तीय संस्थामा गर्नुपर्ने, सहकारीमा त सामुदायिक भावना सहित समान आय भएका सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि सहकार्य गर्नुपर्छ, उहाँले भन्नुभयो । उहाँले नगद कारोबारमा भन्दा चेक मार्फत कारोवार गरे कानूनी रुपमा सुरक्षित हुने बताउँदै ५० हजार भन्दा माथिको कारोवार गर्नु परेमा वडाबाट प्रमाणित गरी मात्र कारोवार गर्नुपर्नेमा जोड दिनुभयो । अधिवक्ता कैटीले व्यवसाय सुरु गर्दा पनि कानूनी रुपमा दर्ता गरी मात्र कार्य गर्दा भविष्यमा कानूनी समाधान पाउने बताउनुभयो । उहाँले नेपाली शिक्षा प्रणली पाठ्यक्रममा मात्र आधारित रहेको कारण जनतामा उद्यमशिलताको चेतनाको कमी रहेको बताउनुभयो ।
कार्यक्रमका सहजकर्ता अधिवक्ता कृति दुमरुले कुनै पनि कागजातमा सहि गर्न पुर्व सो कागजात राम्ररी अध्ययन गरेर मात्र गर्नुपर्ने बताउँदै कूनै पनि उजुरी गर्न अदालतले हद म्याद तोकिने हुँदा समयमै उजुरी दर्ता गरी समस्याको कानूनी समाधान खोज्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले कानून सम्बन्धी केहि जिज्ञासा रहे भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ ल मा सम्पर्क गरी पनि जानकारी प्राप्त गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले जनता माझ नीति नियमको जानकारी नभएकै कारण भ्रष्टचारीहरुले त्यसबाट फाइदा उठाइ रहेको बताउनुभयो । उहाँले कर छली गर्न आय श्रोत लुकाउनाले कालो धन श्रृजना हुने जुन विभिन्न माध्यमबाट जायज बनाउन खोज्नु सम्पति शुद्धिकरण गर्नु हो भन्नुहुँदै ती क्रियाकलापहरुको कारणले आज नेपाल ग्रे लिस्टमा परेको जानकारी दिनुभयो । उहाँले सम्पत्ति शुद्धिकरण रोक्न हरेक सहकारी संस्थाले आफ्नो सदस्य पहिचान गर्नुपर्ने आवश्यकता रहेको बताउँदै संस्थालाई सदस्य पहिचान गर्न टेवा पु¥याउन सदस्यहरुलाई सदस्य पहिचान फारम (KYC) अद्यावधिक गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा संस्थाका कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो ।