वासिङ्ग मेसिनमा प्रयोग हुने सर्फ बनाउने तालिमको समापन कार्यक्रम । पुस २४, २०८२

वासिङ्ग मेसिनमा प्रयोग हुने सर्फ बनाउने तालिमको समापन कार्यक्रम । पुस २४, २०८२

पुस २४, भक्तपुर ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को ३२औं स्थापना दिवसको अवसरमा संस्थाको सदस्य व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा वासिङ्ग मेसिनमा प्रयोग हुने सर्फ बनाउने तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले ३१ जना युवाहरुबाट स्थापित यस संस्था हाल शेयर सदस्य, बाल बचतकर्ता र ज्येष्ठ सदस्यहरु गरी २१ हजार भन्दा बढिको परिवार बनेको उल्लेख गर्नुहुँदै ती परिवार मध्य ५२ प्रतिशत महिलाहरुको सहभागिता रहेको जानकारी दिनुभयो । उहाँले सदस्यहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ संस्थाबाट नियमित रुपमा सिपमूलक तथा आयमूलक तालिमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
अध्यक्ष लाखाले सिकेका सिपको सदुपयोग गरी व्यवसाय सुरु गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो । उहाँले सहकारी सिद्धान्त र मुल्य मान्यताको पालना गरी समुदायमा आधारित यस संस्था आर्थिक नाफा भन्दा सदस्य र समुदायको विकासका निम्ति निरन्तर कार्य गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सञ्चालक सदस्य एवं उपसमिति संयोजक सपना कवांले सदस्यहरुलाई स्वाभिमानी र आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना भएको बताउँदै संस्थाबाट उचित व्याजदरमा ऋण लगानी गरी सदस्यहरु माझ आर्थिक अवसरहरु श्रृजना गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रशिक्षक रमिता चौगुठीले तालिमबाट सिकेका सिप तालिममा मात्र सिमित नराख्न आग्रह गर्नुहुँदै घरायसी उपयोगका लागि मात्र भए पनि सर्फ बनाई तालिमको सिपको सदुपयोग गर्न भन्नुभयो । उहाँले बजारमा पाईने महङ्गो सर्फ सर्फ गणस्तरीय हुने सोच परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउँदै न्यून शुल्क मै तालिमको सिपले घरमै सर्फ बनाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले सम्पत्ति शुद्धिकरण निवारण र सदस्य पहिचान फारम अद्यावधिक गर्नुको महत्वबारे चर्चा गर्नुहुँदै सदस्यहरु पहिचान गर्न सम्पूर्णलाई सदस्य पहिचान फारम अद्यावधिक गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा उपसमितिका सदस्य कृष्ण लक्ष्मी छेताला, संस्थका कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजु तथा प्रशिक्षार्थी शुशिला प्रजापतिले पनि बोल्नुभएको थियो ।