मौसमी बाली सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न । पुस २५, २०८२
पुस २५, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को ३२औं स्थापना दिवसको अवसरमा सदस्य व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजना तथा राष्ट्रिय बाली अनुसन्धान केन्द्र, खुमलटारको प्राविधिक सहयोग र सिद्धि कृषि सहकारी संस्था लि., भक्तपुरको समन्वयमा मौसमी बाली सम्बन्धी अभिमुखिकरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले ३१ जना युवाहरुको अगुवाईमा स्थापित यस संस्था ३२औं वर्षमा प्रवेश गर्न लागेको जानकारी दिनुहुँदै संस्था आर्थिक लाभका लागि मात्र नभई समाज विकासको निम्ति निरन्तर लागि रहेको बताउनुभयो । उहाँले संस्थाको ३२औं स्थापना दिवसको अवसर पारी विभिन्न उपसमितिहरुले सिपमूलक तालिम तथा जानकारीमूलक कार्यक्रहरु आयोजना गर्दै आएको बताउनुभयो ।
अध्यक्ष लाखाले संस्थामा ऋण सुरक्षणको लागि कोष व्यवस्था गर्नुपर्नाले संस्थाको नाफामा असर गरेको उल्लेख गर्नुहुँदै ऋणी सदस्यहरुलाई समयमै ऋणको साँवा र व्याज भुक्तनी गर्न आग्रह गर्नुभयो । उहाँले भक्तपुरमा कृषि मल वितरण गर्ने सिद्धि गणेश साकोस एक प्रारम्भिक संस्था रहेको बताउँदै कार्यक्रममा उपस्थित सदस्यहरुलाई संस्थाको कार्यक्रमहरुमा सहभागी हुदा सहकारीताका साथै विभिन्न जानकारी पाइने उल्लेख गर्नुभयो ।
कार्यक्रमका अतिथि राष्ट्रिय बाली अनुसन्धान केन्द्रका निमित्त प्रमुख राजेन्द्र कुमार भट्टराईले जलवायु र मौसम परिवर्तनको कारणले कृषि क्षेत्र प्रभावित भएको भन्नुहुँदै कृषकहरुलाई मौसमको पुर्व जानकारी दिई कृषि कार्य के गर्ने र नगर्ने सम्बन्धी हरेक हप्ता कृषि मौसम सल्लाह बुलेटिन प्रकाशन भई रहेको जानकारी दिनुभयो । उहाँले कृषि गर्न सजिलो नभएको तर गर्नुपर्ने कृषि नै हो भन्नुहुँदै भविष्यको ठुलो लगानी नै कृषि क्षेत्र रहेको जसमा अम्बानी जस्ता अरबपति व्यापारीहरुले हात हालि सकेको जानकारी दिनुभयो । हाल विश्वमा तेलको लागि युद्ध भएको जानकारी गराउदै आउदो दिनहरुमा पानी र अन्नका लागि युद्ध हुन सक्ने सम्भावना बारे अवगत गराउनु भयो ।
उहाँले कृषिकहरुको समस्याहरु अनुसन्धान केन्द्रमा रहेको कृषि कल सेन्टरको ११३५ नम्बरमा हरेक शुक्रबार ४ देखि ६ बजे सम्म निःशुल्क जिज्ञासाहरु राख्न सकिने जानकारी दिनुभयो । साथै ११५५ नम्बरमा सम्पर्क गरी मौसम सम्बन्धी जानकारी लिन सकिने बताउनुभयो ।
उहाँले कृषि मौसम सम्बन्धी प्रस्तुतीकरण गर्दै सहभागी कृषकहरुलाई कृषिको लागि उपयुक्त मौसमबारे जानकारी दिनुभयो ।
कार्यक्रमका अतिथि राष्ट्रिय बाली अनुसन्धान केन्द्रका वैज्ञानिक भिमसेन चौलागाईले खेती योग्य जग्गाहरु घडेरीमा परिनत हुँदै आएको प्रति चिन्ता व्यक्त गर्नुहुँदै गहुँखेती प्रविधि सम्बन्धी प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले बिउँको गुण्स्तर परिक्षण गरेर मात्र प्रयोग गर्दा उत्पादनमा बृद्धि हुने भन्नुहुँदै कृषिको लागि बिउँ मात्र नभई खेती गर्ने जग्गा छनोट पनि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले गोबरमल जस्ता जैविक मलहरुको प्रयोगले माटोको स्वास्थ्य स्थिर हुने उल्लेख गर्नुहुँदै रासायनिक मलको सहि उपयोगका तरिकाहरुबारे जानकारी दिनुभयो ।
कार्यक्रमका अतिथि सिद्धि कृषि सहकारी संस्थाका लि.का अध्यक्ष पुण्यराम दुमरुले विगतमा सिद्धि गणेश साकोसको सदस्य व्यवसाय प्रवद्र्धन उपसमितिमा सहि कृषि कार्यक्रमहरु सञ्चालन गर्नुभएको स्मरण गर्नुहुँदै सदस्यहरुलाई मौसमी बाली सम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना भएको बताउनुभयो । उहाँले बिउँ उत्पादन पूर्वका तयारी बारे जानकारी दिनुहुँदै कृषि उत्पादन गरेर मात्र नपुग्ने उत्पादन पश्चात बाली उठाउने र त्यसको भण्डारण गर्ने समेत कृषकहरुमा जानकारी हुनुपर्ने जोडदिनुभयो ।
उहाँले नेपालमा कृषिको लागि प्रविधिको कम मात्र उपयोग भई रहेको उल्लेख गर्नुहुँदै कृषकहरुलाई प्रविधिको प्रयोग गर्न बताउनुभयो । साथै सिद्धि कृषि सहकारी संस्थाबाट विभिन्न कृषि प्रविधि र उपकरणहरु वितरण गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक सपना कवांले संस्थाका कृषक सदस्यहरुलाई मौसम अनुसारको बाली कसरी गर्न सकिने सम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले कार्यक्रममा प्रप्त जानकारीबाट कृषकहरुलाई कृषि उत्पादन बढाउन र प्रविधि प्रयोग गर्न जोड दिनुभयो । कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।