मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर तथा निःशुल्क थाइरोइड परिक्षण सम्पन्न । पुस २६, २०८२
पुस २६, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३२औं स्थापना दिवसको अवसरमा स्वास्थ्य उपसमितिको आयोजनामा मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर तथा निःशुल्क थाइरोइड परिक्षण कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्था वीत्तिय रुपमा मात्र स्वस्थ भएर नपुग्ने संस्थाका सदस्यहरुलाई पनि स्वस्थ राख्नुपर्ने भन्नुहुँदै संस्थाबाट नियमित स्वास्थ शिविर आयोजना तथा सिद्धि गणेश स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले संस्था नीति नियम पालना गरी अघि बढि रहेको भन्नुहुँदै संस्थाले निरन्तर सदस्य र समाजको विकासका निम्ति कार्य गर्दै आएको बताउनुभयो । उहाँले सदस्यहरुले आफ्नो अधिकार मात्र नखोजी आफ्नो जिम्मेवारी पनि पुरा गर्नुपर्ने उल्लेख गर्नुहुँदै ऋणी सदस्यहरुले भुक्तानी गरेको साँवा व्याजले संस्थाको नाफा प्रभावित हुने भएकोले समयमै सावाँ व्याज भुक्तनी गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो ।
कार्यक्रमका अतिथि डा. रत्न सुन्दर लासिवाले न्यून शुल्कमा चिकित्सक सेवा लिन अस्पतालहरुमा बिरामीको भिडको कारणले राम्ररी परामर्श लिन नसकिने बताउँदै यस प्रकारका शिविरहरुमा सो परामर्श सजिलै लिन सकिने उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो भन्नुहुँदै चिकित्सक रामर्शबाट रोगको समयमै पहिचान गरे भविष्यमा त्यस रोगबाट हुने जोखिमबाट बच्न सकिने बताउँनुभयो । उहाँले स्वास्थ्य सम्बन्धी चेतना प्रदान गर्दै जानुपर्ने आवश्यकता औल्याउँदै स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी चेतना प्रदान गर्न मद्दत् गर्ने हुँदा नियमित रुपमा यस्ता कार्यक्रमहरु आयोजना गर्न जोड दिनुभयो ।
उहाँले चिकित्सकको सल्लाह बिना नै औषधीहरुको सेवनले भविष्यमा विभिन्न स्वास्थ्य समस्या निम्त्याउने भन्नुहुँदै चिकित्सकको सल्लाह बिना ऐन्टिबायोटिक औषधीहरुको प्रयोगले बिरामीको शरिरमा ऐन्टिबायोटिकले कम मात्र असर देखिउन थालेको, जसको कारण बिरामीहरुले कडा कडा औषधीहरु सेवन गर्नु परिरहेको बताउँनुभयो ।
कार्यक्रमका अतिथि मुटुरोग विषेशज्ञ डा. किसन कुमार कुसुहवाले काठमाण्डौ उपत्यका अरु जिल्लाहरुको तुलनामा भक्तपुरमा कम मात्र मुटुरोग सम्बन्धी सम्स्याहरु देखा परेको जानकारी दिनुहुँदै हाल पत्रु खानपान र अस्वस्थ जीवनशैलीको कारण युवाहरुमा समेत मुटु सम्बन्धी सम्याहरु देखा परेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले रोग लागे पछि उपचार गर्नु भन्दा रोग लाग्न नदिन रोगबाट बच्ने तरीका सम्बन्धी जानकारी हुनुपर्नेमा जोड दिनुहुँदै सुगर र उच्च रक्तचाप नियन्त्रण गर्न दिनको पहिलो खाना चिनी र नुन विनाको सेवन गर्न सुझाव दिनुभयो । उहाँले सरकारबाट उपलब्ध स्वास्थ्य बिमाले बिरामीको आर्थिक भार कम गर्ने बताउँदै स्वास्थ्य बिमा गर्न अति आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सञ्चालक सदस्य एवं उपसमिति संयोजक तुल्सीदास दुमरुले देशमा भएको भुकम्प, कोभिड १९ र विभिन्न आन्दोलनहरु पश्चता देशका ३१% मानिसहरुमा मानसिक समस्याहरु देखा परेको सम्बन्धी जानकारी दिनुभयो । उहाँले कार्यक्रमा उपस्थित सदस्यहरुलाई कार्यक्रमका ज्ञान घर परिवारमा पनि बाढ्न सल्लाह दिनुहुँदै संस्थाबाट न्यून शुल्कमा विभिन्न स्वास्थ्य सेवाहरु सिद्धि गणेश स्वास्थ्य क्लिनिकबाट प्रवाह गर्दै आएको बताउनुभयो । उहाँले नियमित स्वास्थ्य परिक्षणले रोगको समय मै पहिचान गरी सो रोगको समयमै उपचार गर्न सेकिने बताउनुभयो ।
कार्यक्रममा उपसमितिका सचिव राजेश जाकिवन्जार, सदस्य कृष्ण नारायण दुमरु र संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो । शिवरमा ७४ जना सदस्यहरुले सेवा उपभोग गर्नुभएको थियो भने निःशुल्क सामान्य औषधी पनि वितरण गरिएको थियो ।