एकहप्ते पुतली (DOLL) बनाउने तालिमको समापन कार्यक्रम । पुस २३, २०८२
पुस २३, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३२औं स्थापना दिवसको अवसरमा संस्थाको महिला तथा बालबालिका उपसमितिको आयोजनामा एकहप्ते पुतली(DOLL) बनाउने तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले बचत तथा ऋण कारोवारले मात्र सहकारीको उद्देश्य पुरा नहुने बताउँदै महिला सदस्यहरुलाई उद्यमी बनाउने लक्ष्यका साथ संस्थाबाट विभिन्न सिपमुलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले संस्थाका कृषिकहरुको लागि संस्थाको स्थापना दिवसको अवसरमा मौसमी बाली सम्बन्धी अभिमुखिकरण कार्यक्रम तथा सदस्यहरुको स्वास्थ्यको लागि मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हने जानकारी दिनुभयो ।
उहाँले तालिममा सिकेका सिपको सदुपयोग र अभ्यास गरी अरुलाई प्रशिक्षण प्रदान गर्न सके मात्र तालिम सहि मान्यतामा सफल हुने उल्लेख गर्नुभयो । उहाँले संस्थाबाट विगतमा प्रदान गरेका तालिमको सिप सदस्यहरुले कम मात्र सदुपयोग गरेको बताउँदै तालिमको सिपलाई प्रयोग गरी उद्यमी बन्न सहभागी प्रशिक्षार्थीहरुलाई हौसला दिनुभयो । उहाँले आफ्नो बचत सुरक्षित राख्न व्याजको प्रलोभनमा नपरी समुदायमा आधारित सहकारी संस्थामा मात्र बचत गर्न सचेत गर्नुभयो ।
कार्यक्रमका सभापति संस्थाका सञ्चालक सदस्य एवं उपसमिति संयोजक रञ्जना प्रजापतिले संस्थाका बाल बचतकर्ताहरुको व्यक्तित्व विकासका निम्ति नियमित तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुहुँदै पुलती बनाउने तालिम सदस्यहरुलाई व्यवसाय गर्न प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन भएको बताउनुभयो । उहाँले भविष्यमा तालिमको सदुपयोग बारे जानकारी लिन भेटघाट कार्यक्रम आयोजना गरिने बताउँदै तालिमको सदुपयोग गरी प्रशिक्षार्थीहरुलाई व्यवसाय गर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक सुष्मा त्वातीले तालिमको सदुपयोग गरी व्यवसाय गर्न आग्रह गर्नुहँदै व्यवसाय गर्न असमर्थ भए कम से कम उपहार दिन भए पनि सिपको सदुपयोग गर्न बताउँनुभयो । उहाँले तालिमलाई तालिममा मात्र सिमित नराख्न भन्नुहुँदै भविष्यमा कुनै समस्या परे सहयोगको लागि आफु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई, उपसमितिका सचिव नारां देवी दुमरु तथा संस्थाका कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएकोे थियो ।