गुडपाक, पुस्तकारी तथा सुत्केरी मसला बनाउने तालिम । पुस १०, २०८२
पुस १०, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को ३२औं स्थापना दिवसको अवसरमा संस्थाको सेवाकेन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुको आयोजनामा गुडपाक, पुस्तकारी तथा सुत्केरी मसला बनाउने तालिम सिद्धि गणेश तालिम हल खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद नारायण लाखाले ३१ जना युवाहरुले रु ३१०० पूँजीबाट सामाजिक भावना सहित स्थापना भएको यस संस्थामा हाल २१ हजार सदस्य र ३ अर्ब भन्दा बढिको कूल सम्पत्ति रहेको जानकारी दिनुभयो । उहाँले स्थानियद्वारा सञ्चालित सहकारी संस्था सुरक्षित हुने बताउँदै सदस्यहरुको सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले संस्थाबाट नियमित सिपमूलक तथा आयमूलक कार्यक्रमहरु आयोजना हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले सदस्यहरुको सामुहिक सुझावमा संस्थाबाट सदस्यहरुको आवश्यकता अनुसार तालिम सञ्चालन गर्न संस्था सदैव तयार रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सञ्चालक सदस्य एवं उपसमिति संयोजक राधेश्याम सैंजुले तालिमबाट सिकेको ज्ञान व्यवहारिक रुपमा उपयोग गर्नुपर्ने आवश्यकता औल्याउँदै तालिमको सिप प्रयोग गरी व्यवसाय सुरु गर्न प्रोत्साहन गर्नुभयो ।
कार्यक्रमका प्रशिक्षक मनिषा शाखकर्मीले आफुमा भएका सिपहरु आफुमा मात्र राखे बिस्तारै विर्सदै जाने भएकोले आफूमा रहेको सिप अरुलाई सिकाउनु पर्ने बताउनुभयो । उहाँले बाल बालिकाहरु पत्रु मिठाईहरुमा बढि आर्कषित हुने उल्लेख गर्दै बालबालिकाको स्वास्थ्यको निम्ति पनि तालिममा सिकाएको सिप प्रयोग गरी घरमै स्वस्थकर मिठाई बनाउन सकिने बताउनुभयो ।
उहाँले समाज विकासका निम्ति महिला सशक्तिकरणको आवश्यकता हुने बताउँदै थोरै लागतबाट पनि पुस्तकारी, गुडपाकको व्यवसाय घरबाटै सुरु गर्न सकिने उल्लेख गर्नु भयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई, उपसमितिका सचिव पुण्यराम कर्माचार्य तथा प्रशिक्षार्थी निसा तुलाधरले पनि बोल्नुभएको थियो ।