अनिवार्य शिक्षा शिविर सम्पन्न । मंसिर २०, २०८२

अनिवार्य शिक्षा शिविर सम्पन्न । मंसिर २०, २०८२

भक्तपुर, २० मंसिर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजना तथा नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका सदस्य सुरेन्द्र राज गोसाईको प्रमुख आतिथ्यमा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।

कार्यक्रमका प्रमूख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाईले हाल विभिन्न सहकारी संस्थाहरुले गरेको आर्थिक अपचलनबारे चर्चा गर्नुहुँदै राम्रो सरकारले खराब सहकारीका कारण धरापमा परेका पिडित जनताको बचत सुरक्षित गर्न ती सहकारी संस्थाका सञ्चालकहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले सदस्यहरुलाई खराब सहकारीमा संलग्न नगराउन राम्रा सहकारीहरुले समय समयमा सदस्यहरु भेटघाट कार्यक्रमहरु आयोजना गरी वित्तीय साक्षरता प्रदान गर्नुका साथै राय सुझावहरु संकलन गर्नुपर्ने आवश्यकता औल्याउँनुुभयो ।

उहाँले सिद्धि गणेश साकोसका सञ्चालकहरुले आफ्नो जिम्मेवारी इमानदारीता पूर्वक पालना गरी संस्था आर्थिक नीति नियम पालना गरी सञ्चालन भएकोमा विश्वस्त रहेको बताउँदै सदस्यहरुलाई संस्थाबाट गलत कार्य भएमा निरन्तर आलोचान गर्ने सचेत गर्नुभयो । उहाँले शिक्षा शिविर कार्यक्रम नयाँ एवं सम्भावित सदस्यहरुलाई मात्र नभई पुराना सदस्यहरु, कर्मचारीहरु तथा सञ्चालकहरुसमेत समावेश गरी नियमित सञ्चालन गर्न सुझाव दिनुभयो । गोसाईले सहकारी संस्थाले सदस्यहरुलाई अनावश्यक खर्च कटौटी गरी बचत गर्ने बानी विकास गर्न विभिन्न कार्यक्रम एवं सामाजिक भेटघाट मार्फत सुसूचित गर्नुपर्ने बताउँनुभयो ।

उहाँले देशको आर्थिक प्रगतीको लागि आत्मनिर्भताको आवश्यकता हुने बताउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिई आयत घटाउनुपर्ने विचार व्यक्त गर्नुभयो । सदस्यहरुबाट उत्पादित वस्तु एवं हस्तकला बजारीकरण गर्न सहकारी संस्थाहरुले हाते बजारहरु सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक छ , उहाँले भन्नुभयो । साथै न्यून आय भएका सदस्यहरुको आर्थिक विकास गर्न सहकारी संस्थाले विभिन्न तालिम सञ्चालन गरी ती सदस्यहरुमाझ आर्थिक अवसरहरु श्रृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले एक आपसमा सहकार्य गर्नु नै सहकारी हो भन्नुुहुँदै परम्परागत गुठ्ठी, धर्म भकारी एवं पर्मको रुपमा धेरै पहिले देखि नै देशमा सहकारीताको अभ्यास हुँदै आएको जानकारी दिनुभायो । उहाँले अग्रजहरुको सुझाव अनुसार सहकारी सिद्धान्तहरुको पालना गरी संस्था सञ्चालन गर्दै आएको कारणले संस्था स्थापना भएको ३१औं वर्ष सम्म पनि कुनै समस्या भोग्न नपरेको बताउनुभयो । अध्यक्ष लाखाले संस्था आर्थिक नाफाको लागि मात्र नभई समाज र सदस्यहरुको विकासका निम्ति सामाजिक क्षेत्रमा समेत निरन्तर सक्रिय हुँदै आएको बताउनुभयो । उहाँले नियमित बचत गर्नु र संस्थाबाट लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्नु मात्र सदस्यको दायित्व नभई साधारण सभामा उपस्थित भई संस्थालाई उचित राय सुझाव दिनु पनि सदस्यको दायित्व रहेको बताउँनुभयो ।

कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले सदस्यहरुमा सहकारी सम्बन्धी ज्ञान नहुनाले धेरै सहकारीका सदस्यहरुको बचत धरापमा परेको उल्लेख गर्नुहुँदै सदस्यहरुलाई सहकारी ज्ञान एवं वित्तीय साक्षरता प्रदान गर्ने हेतुले संस्थाबाट नियमित शिक्षा शिविर सञ्चालन हुँदै आएको बताउँनुभयो । उहाँले समुदायमा आधारित भई नीति नियमको पालना गरी स्थानियद्वारा सञ्चालित सहकारी संस्था विश्वसनीय र सुरक्षित हुने बताउँदै सहकारी र सञ्चालकहरुबारे राम्ररी बुझेर मात्र बचत गर्न सुझाव दिनुभयो । उहाँले संस्थाको पृष्ठभुमिबारे जानकारी दिनुहुँदै संस्थामा पाल्नुभएका अतिथिहरुको सुझाव पालना गरी संस्था सञ्चालन गर्दै आएको कारण संस्थाले विभिन्न पदक समेत प्राप्त गरेको स्मरण गर्नुभयो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र शिक्षा उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।