अनिवार्य शिक्षा शिविर सम्पन्न । श्रावण १७, २०८२
१७ श्रावण, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले कार्यक्रममा उपस्थित सदस्यहरुलाई सहकारी सिद्धान्तबारे जानकारी दिनुहुँदै सिद्धान्तको पालना गरी अघि बढेका सहकारी संस्था समस्यामा नपर्ने बताउनुभयोे । अध्यक्ष लाखाले सहकारी संस्था समस्यामा पर्नुका मुख्य कारणहरु मध्य सञ्चालक तथा व्यवस्थापनले सदस्यहरको बचत अपचलन गरी अनुत्पादनमूलक क्षेत्रमा लगानी गर्नु रहेको जानकारी दिनुभयो ।
उहाँले संस्थाबाट सदस्यहरुको सेवाको लागि बचत तथा ऋण कारोवार मात्र नभई स्वास्थ्य शिविर, सिपमुलक तालिम एवं रोजगारीमुलक तालिमहरु सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले सदस्यहरुलाई सहकारीबारे चेतना दिनु र सुसूचित गर्नु सहकारी संस्थाको दायित्व रहेको बताउँदै संस्थाले स्थापनाकाल देखिनै नियमिति शिक्षा शिविर आयोजना गर्दै आएको बताउनुभयो । उहाँले संस्थाको थप विकासका लागि सदस्यहरुलाई संस्थाको सेवा सुविधा उपभोग गर्नुका साथै साधारण सभामा उपस्थित भई उचित सुझावहरु दिनुहुन आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले संस्थाको पृष्ठभुमिको जानकारी दिनुहुँदै संस्थाले आफ्नो कार्यक्षेत्रका नागरिकलाई मात्र सदस्यता प्रदान गरी आर्थिक कारोवार गर्नाले संस्था ३१ वर्षको कार्यकाल सम्म पनि सुरक्षित रहेको बताउनुभाये । उहाँले विगतमा साहुमार्जन संग लिएको ऋणको साँवा व्याज एकमुष्ट तिर्नुपर्दा न्यून आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी रोजगारी तथा आर्थिक अवसरहरु श्रृजना गर्दै आएको बताउनुभयो । उहाँले अरु संस्थाका सदस्यहरुले ब्याजको प्रलोभनमा परी आफ्नो बचत रकम समेत फसाएको उद्धारण दिनुहुँदै ब्याजको प्रलोभनमा नपर्न र आफु कारोवार गर्ने सहकारी सम्बन्धी जानकारी लिन सचेत गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थामा उपलब्ध विभिन्न सेवा सुविधाहरुको जानकारी दिनुहुँदै संस्थाका बाल बचतकर्ता र शेयर सदस्य बीचको भिन्नताबारे चर्चा गर्नुभयो साथै बाल बचतकर्ता संस्थाका बचतकर्ता मात्र रहेको र शेयर सदस्यका अधिकार उनीहरुमा नरहने बताउनुभयो । उहाँले भक्तपुर नगरका सहकारी संस्था समुदायमा आधारित भई सञ्चालन हुँदै आएको कारणले नगर भित्रका सहकारी संस्था समस्यामा नपरेको र देश भरीका सहकारी संस्थाहरुका लागि उद्धारणिय बनेको बताउनुभयो । उहाँले सहकारी संस्थामा कार्यरत्त कर्मचारीहरुमा सहकारी सम्बन्धी ज्ञान र जानकारी नहुँदा पनि सहकारी संस्था समस्यामा पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा शिक्षा उपसमितिका सचिव किरण बनमाला र सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।