अनिवार्य शिक्षा शिविर सम्पन्न । चैत्र १६, २०८१

१६ चैत्र, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले कार्यक्रममा उपस्थित सदस्यहरुलाई सहकारी सिद्धान्तबारे जानकारी दिनुहुँदै सिद्धान्तको पालना गरी अघि बढेका सहकारी संस्था समस्यामा नपर्ने बताउनुभयोे । उहाँले संस्थाबाट सदस्यहरुको सेवाको लागि बचत तथा ऋण कारोवार मात्र नभई स्वास्थ्य शिविर, सिपमुलक तालिम एवं रोजगारीमुलक तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
अध्यक्ष लाखाले सदस्यहरुको बचत प्रयोग गरी भौतिक सम्पति बढाउने सहकारी संस्था समस्यामा पर्ने बताउँदै संस्थाको जगेडाकोष बलियो भए मात्र संस्था दिगो हुने विचार व्यक्त गर्नुभयो । उहाँले संस्थाका सदस्यहरुलाई सहकारी सम्बन्धी सुसूचित गर्ने हेतुले स्थापनाकाल देखिनै नियमिति शिक्षा शिविर आयोजना गर्दै आएको बताउनुभयो ।
उहाँले सिद्धि गणेश साकोस स्थापनाकाल देखिनै विभिन्न निकाय, संघ संस्थाबीच समन्वय गरी अघि बढेको कारणले सफल बनेको भन्नुहुँदै संस्थाको थप विकासका लागि सदस्यहरु साधारण सभामा उपस्थित भई समुदायलाई हित हुने सुझावहरु दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले संस्थाको पृष्ठभुमिको जानकारी दिनुहुँदै संस्थाले आफ्नो कार्यक्षेत्रका नागरिकलाई मात्र सदस्यता प्रदान गरी आर्थिक कारोवार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा साहुमार्जन संग लिएको ऋणको साँवा व्याज एकमुष्ट तिर्नुपर्दा निम्न आय भएका किसानलाई समस्या परेको हुनाले स्थापनाकाल देखि नै संस्थाले किस्ताबन्दी ऋण प्रदान गरी रोजगारी तथा आर्थिक अवसरहरु श्रृजना गर्दै आएको बताउनुभयो । उहाँले संस्थाका सदस्यहरुलाई ब्याजको प्रलोभनमा परी आफ्नो बचत रकम समेत फसेको उद्धारण दिनुहुँदै ब्याजको प्रलोभनमा नपर्न र आफु कारोवार गर्ने सहकारी सम्बन्धी जानकारी लिन सचेत गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले विभिन्न उद्देश्य अनुसारका विभिन्न सहकारी हुने जानकारी दिनुहँुदै सिद्धि गणेश एक बचत तथा ऋण सहकारी संस्था रहेको जसको मुख्य उद्देश्य सदस्यहरुको बचत संकलन गरी सदस्यहरुलाई ऋण प्रदान गर्नु हो भन्नुभयो । उहाँले बाल बचतकर्ता र शेयर सदस्य बीचको भिन्नता सम्बन्धी जानकारी दिनुहुँदै बाल बचतकर्ता संस्थाका बचतकर्ता मात्र रहेको र शेयर सदस्यका अधिकार उनीहरुमा नरहने बताउनुभयो । उहाँले सदस्यहको उद्देश्य अनुसार ऋण लगानी गर्दै आएको हुनाले संस्था दिगो र सुरक्षित रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा उपसमितिका सचिव किरण बनमाला र सदस्य रामहरी ताम्राकारले पनि बोल्नुभएको थियो ।