सर्वप्रथम यस संस्थाको २८औँ वार्षिक साधारणसभा (क्षेत्रगत) बाट निर्विरोध रूपमा अध्यक्ष पदमा चयन गरी संस्था र सदस्यहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण शेयरसदस्यहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । संस्थाले स्थापनाकालदेखि नै सदस्यहरुको आर्थिक क्षेत्रमा समृद्धिको कल्पना गर्दै “एकका लागि सबै, सबैका लागि एक” भन्ने सहकारीको मूल मर्मलाई आत्मसात गर्दै आएको पुनःस्मरण गराउन चाहन्छु । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. सहकारी ऐन, सहकारी नियमावली, सहकारीका आधारभूत सिद्धान्त, मूल्यमान्यताहरु, प्रचलित ऐनहरुको पालना गर्दै अगाडि बढिरहेको छ । सदस्यहरुको आर्र्थिक समृिद्धका लागि स्वरोजगारका अवसरहरु सृजना गर्न विभिन्न किसिमका रोजगारमूलक तालिमहरु सञ्चालन गर्दै आइरहेका छौँ भने सदस्यहरु तथा बाल बचतकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तालिमहरु निरन्तर रुपमा सञ्चालन गरी सदस्यहरुको आर्थिक, सांस्कृतिक र शैक्षिक स्तर उकास्ने कोशिश जारी रहेको छ । यसबाट सदस्यहरु लाभान्वित भइरहेको अपेक्षा हामीले गरेका छौंँ । सहकारीको मूल उद्देश्य गरिव तथा न्यून आय भएका सदस्यहरु र सदस्य परिवारको जीवनस्तर उकास्ने भए तापनि राज्यले सो अनुरूपको ऐन, नीति निर्माण नगर्दा वास्तविक रुपमा सहकारीको उद्देश्य पूरा हुन नसकिरहेको महसुस गरेको छु ।
आजभन्दा झन्डै तीन दसक अगाडि ३१ जना संस्थापक सदस्यहरुबाट स्थापना गरिएको यस संस्थामा १६३५१ शेयर सदस्य र ३२५८ जना बाल बचतकर्ता गरी झन्डै २० हजार संख्याको परिवार भएको छ । ती सदस्यहरुलाई गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउन समयानुकूल नीति निर्माण गरी प्रविधि मैत्री बनाउने प्रयासमा लागिरहेको छ । वर्तमान समयमा समुदायमा आधारित नरहेका सहकारी संस्था, व्यक्तिगत स्वार्थमा आधारित वित्तीय संस्थाहरुले पूँजी सङ्कलनको माध्यम बनाएर फरार भइरहेको
समाचारले समुदायमा आधारित संस्थाहरुलाई चुनौती भएको महसुस भएको छ । यसको लागि समुदायमा आाधारित संस्थाहरुको एकीकृत अभियान आवश्यक छ । यस संस्थाले असल तथा खराब संस्थाको बारेमा सदस्यहरुलाई सुसूचित गर्न शिक्षा शिविर, सदस्य अन्तरक्रियाहरु गर्दै आइरहेको छ ।
अन्तमा, सदस्यहरुको सकारात्मक सुझावअनुसार संस्था अगाडि बढ्न थप ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।
धन्यवाद ! जय सहकारी !
This will close in 0 seconds