संस्थाको ३१ औं वार्षिक साधारण सभा(क्षेत्रगत) । असोज ४, २०८२

संस्थाको ३१ औं वार्षिक साधारण सभा(क्षेत्रगत) । असोज ४, २०८२

एउटै सहकारीको एकैचोटी ३ ठाउँमा साधारणसभा

सिद्धि गणेशको नाफा ४ करोड ६४ लाख ३२ हजार

भक्तपुर, ४ असोज

नेपालकै अधिक सदस्य रहेको संस्थाको रुपमा रहेको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले पहिलो पटक संस्थाबाहेकका अन्य व्यक्तिलाई अतिथि नबनाइकन साधारणसभा गरेको छ । १७ हजार ८ सय सदस्य रहेको भक्तपुरको सिद्धि गणेशले अजिमा पार्टी महल, स्टार बैंक्वेट र महेश्वरी बैंक्वेटमा गरी ३ ठाउँमा एकै दिन एकै समयमा शनिवार क्षेत्रगत रुपमा साधारणसभा गरेको हो ।

संस्थाको ३१ औं साधारणसभाले कोषाध्यक्ष जयराम गोर्खालीद्वारा प्रस्तुत आ.व. २०८१।०८२ को श्रोत तथा उपयोग तर्फ तीन अर्ब छबिस करोड एकतीस लाख त्रिचालीस हजार एक सय नौ रुपैंयाँ र आय तथा व्यय तर्फ पच्चिस करोड चालिस लाख सन्तानब्बे हजार आठ सय पच्पन्न रुपैयाँको यथार्थ आर्थिक प्रगति प्रतिवेदन पारित गरेको थियो ।

आ.व.२०८२।०८३ को स्रोत तथा उपयोग तर्फ तीन अर्व छतीस करोड रुपैया र आय तथा व्यय तर्फ एक्काईस करोड अठहत्तर लाख बाह्र हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रमहरु पारित गरेको थियो । सभाले संचालक समितिको तर्फवाट सचिव विष्णु प्रसाद दुमरुद्वारा प्रस्तुत आ.व. २०८१।०८२ को प्रगति प्रतिवेदन तथा आ.व. २०८२।०८३ को प्रस्तावित कार्यक्रमहरु पनि सर्वसम्मतले पारित गरेको छ ।

सभाले लेखा सुपरिवेक्षण समितिको तर्फवाट संयोजक राम प्रसाद लाखाजुद्वारा प्रस्तुत आ.व. २०८१।०८२ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको थियो । संस्थाको संचालक समितिको निर्णय अनुसार आ.ब २०८१।८२ को शेयर पूँजीमा ६% करकट्टि सहितको दरले लाभांश वितरण गर्ने प्रस्ताब पारित गर्ने निर्णय पनि गरेको छ ।

यसैंगरी संस्थाका संचालक समितिको निर्णय अनुसार आ.ब २०८१।८२ को संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकम मध्ये रु ५० लाख रकम नियमानुसार वितरण गर्ने प्रस्ताब पारित गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । साधारणसभाअन्तर्गत अजिमा पार्टी महलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले ३१ जनाबाट शुरु भएको सिद्धि गणेशमा हाल १७ हजार ६ सय सदस्य पुगेकोमा खुशी प्रकट गर्नुभयो । विगतमा साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गर्दै आएकोमा अहिले राष्ट्रिय सहकारी प्राधिकरणले कुनै पनि किसिमको उपहार, सम्मान, भोजभतेर र परिवहन खर्च नदिनु भनेकाले सोहीअनुरुप साधारणसभा मितव्ययितापूर्वक सम्पन्न गरेको जानकारी दिनुभयो ।

सहकारीका कोषाध्यक्ष जयराम गोर्खालीले बदलिंदो परिस्थिति र लगानीमा भएको कमीले गर्दा ७ करोड ८७ लाख नाफा कमाउने लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८१।८२ मा ४ करोड ६४ लाख ३२ हजार रुपैयाँ मात्र नाफा आर्जन भएको जानकारी दिनुभयो । यसवर्ष खुद नाफा लक्ष्यभन्दा धेरै कम हुनुमा ऋण नोक्सानी व्यवस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम ऋण नोक्सानी व्यवस्थामा १ करोड ६९ लाख ७ हजार व्यवस्था गर्नुपरेका कारणले पनि भएको स्पष्ट पार्नुभयो ।

संस्थाका सञ्चालक रत्नश्वरी चवालले सचिवको प्रतिवेदन पेश गर्दै संस्थाको शेयर पुँजी २६ करोड २५ लाख ४५ हजार रुपैयाँ बचत तथा निक्षेप २ अर्ब ६४ करोड २० लाख ५६ हजार, जगेडा कोष २७ करोड ५८ लाख ४५ हजार, संरक्षित पुँजी फिर्ता कोष ८२ लाख ४९ हजार ६सय१३, सहकारी प्रवद्र्धन कोष १ लाख ६४ हजार, अन्य कोषहरु २ करोड ४५ लाख, सदस्य ऋण लगानी १ अर्ब ८२ करोड ६८ लाख २३ हजार गरी कुल ३ अर्ब २६ करोड ३१ लाख ४३ हजारको सम्पत्ति रहेको विवरण पेश गर्नुभयो ।

संस्थाका व्यवस्थापक शिला गोसाइँले नियमनकारी निकायबाट विभिन्न समयमा जारी भएका निर्देशन र मापदण्डको परिपालना गरेकै कारण सिद्धि गणेश सहकारी सुरक्षित रहेको र जनताको मनमनमा बस्न सफल भएको बताउनुभयो । कार्यक्रममा लेखा समितिका संयोजक रामप्रसाद लाखाजुले सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा सञ्चालक राजन लाखाले ३ वटा क्षेत्रगत साधारणसभाले १० –१० जना सदस्यहरुलाई निर्णय प्रमाणिकरण गर्ने व्यक्तिको रुपमा चयन गरेको जानकारी दिनुभयो।

सिद्धि गणेश सहकारी ३१ औं साधारणसभा - अजिमा पार्टी महल

संस्थाको क्षेत्र नं ५ र ६ को साधारणसभा महेश्वरी बैक्वेट थुसाचामा सम्पन्न भयो । साधारणसभामा उपाध्यक्ष विष्णुराम दुमरुले सरकारमा बसेकाहरुको राम्रो सुझबुझ नभएका कारण सहकारी संस्थाहरु समस्यामा पर्दै आएको बताउनुभयो । सहकारी संस्थाहरुलाई व्यवस्थित गर्ने नाममा देशभरका सहकारी संस्थाहरुलाई एउटा नियम लागू गर्न खोज्नु उपयुक्त नभएको उहाँंको भनाई थियो । उहाँंले खर्च कटौतीको नाममा हालसालै सहकारी बाहिरका अतिथिहरु ल्याएर साधारणसभा गर्न नपाउने वन्दोवस्त गर्नु पनि उचित नभएको बताउनुभयो । यसो हुँंदा विज्ञका कुराहरु सुन्न नपाउने भई ज्ञानको दायरा खुम्चित गएको उहाँंले बताउनुभयो ।

साधारणसभामा संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीले स्थानीयले चलाएको सहकारी भाग्न सक्दैन भन्नुहँंदै त्यस्ता सहकारीमा रकम जम्मा गर्न डराउनु नपर्ने बताउनुभयो । साधारणसभामा सञ्चालकहरु रामचन्द्र दुमरु, राधेश्याम सैंजू, सपना कवांलगायतले पनि बोल्नुभएको थियो ।

सिद्धि गणेश सहकारी ३१ औं साधारणसभा - स्टार बैंक्वेट

सिद्धि गणेश सहकारी संस्थाको ३१औं वार्षिक साधारण सभा अन्तर्गत कमलविनायक स्टार बैंक्वेटमा क्षेत्र नं. ३ र ४ को संस्थाका सचिव विष्णु प्रसाद दुमरुको सभापतित्वमा कार्यक्रम सम्पन्न गरी १० बुँदे निर्णयसमेत पारित गरेको छ । कार्यक्रममा पूर्व अध्यक्ष तथा बचत उपसमितिका संयोजक कृष्ण गोविन्द लाखाजुले आव २०८१।८२ को आर्थिक प्रगति प्रतिवेदन र आव २०८२।८३ को अनुमानित बजेट प्रस्तुत गरेका थिए । उहाँले गत आवमा शेयरअन्तर्गत ७२ लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको उल्लेख गर्दै, उपयोग सम्पत्ति तर्फ १३ करोड ५० लाख रुपैयाँ छुट्याइएको जानकारी दिनुभयो । साथै, १७ हजार शेयर बाँकी रहेकाले आवश्यक परे थप शेयर निकाल्न सकिने जानकारी दिनुभयो ।

संचालक समितिका सदस्य तुल्सिदास दुमरुले आव २०८१।८२ को प्रगति प्रतिवेदन र आव २०८२।८३ का प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले सम्पत्ति शुद्धिकरण निवारण निर्देशिकाको पालना, नीतिगत संशोधन तथा आगामी गतिविधिहरुबारे स्पष्ट पार्नुभयो । कार्यक्रममा लेखा समितिका सदस्य हेरा ख्याजुले सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। सभापति एवम् सचिव विष्णु प्रसाद दुमरुले सिद्धि गणेश सहकारी संस्थाले अन्य सहकारीभन्दा बढी भरपर्दो र पारदर्शी ढंगले काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा सदस्य रमेश दुमरु, रञ्जन प्रजापति, चिरीमैया लाखाजु, सुन्दर मानन्धरसहितका बचतकर्ताको उपस्थिति रहेको थियो ।