शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम । असोज ११

शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम । असोज ११

११ असोज, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजना तथा ने.म.कि.पा. केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा संस्थाको समिति, उपसमिति,कर्मचारी, लघुवित्त समूह र स्वयमसेवकहरुको सहभागितामा शुभ विजया दशमी(मोहनी नखाः) र शुभ दिपावली(स्वन्ती नखाः) २०८२ एवं नेपाल संबत् ११४६(न्हूँःद) को उपलक्ष्यमा तथा संस्थाको ३१औं वार्षिक साधारण सभा(क्षेत्रगत) मा सहयोग गर्नुहुने सम्पूर्णमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले सहकारी संस्थाले बैंक जस्तो बचत र ऋणको मात्र कारोबारमा सिमित नभई समाज र सदस्यहरुको हित हुने कार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समुदायमा आधारित भई सहकारी सञ्चालन गर्न कानूनले बाधा पुगेको खण्डमा ती कानूनहरु परिमार्जन गर्नुपर्नेमा सुझाव दिनुपर्ने बताउनुभयो । उहाँले विदेशी सहकारी संस्थाहरुले कृषिलाई प्राथमिकता दिई कृषकहरुलाई कृषि औजार र प्रविधि उपलब्ध गराउने भन्नुहुँदै हाम्रो देशमा पनि यस प्रकारका गतिविधि गरी किसान र मजदुर वर्गको विकास गर्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथि सुवालले धेरै सहकारी संस्था समस्यामा पर्नाले देशमा रहेका ३२ हजार सहकारी मध्ये गरी १७ हजार सहकारी निष्कृय रहेको हुनाले सो सहकारीलाई आवश्यक कार्यवाही गर्न नियामनकारी निकायको योजनाले रहेको बारे अवगत गराउनु भयो ।

उहाँले गत भाद्र २३ र २४ गते भएको जेन–जि आन्दोलनमा भएको घटनाको स्मरण गरी सो परिस्थिति निम्तिनुमा संविधानिक परिसदबाट पूर्व अवलोकन र आकलन नहुँनु मुख्य कारण रहेको बताउँदै सो घटनाका सहभागीले २४ गते भएको जनधनको क्षतिमा मादक पदार्थ सेवन गरी घुसपेठ गर्नेहरुको कारणले भएको जानकारी प्राप्त भएको उल्लेख गर्नुभयो । साथै आयोजकले योजना गरेको विपरित बढी संख्या संलग्न भई सो घटना हुन गएको बारेमा जानकारी पनि दिनुभयो । आन्दोलनमा सहभागी भएका युवाहरुले पूर्ण जानकारी नभई सहभागी हुनाले पनि जनधनको क्षति भएको हुनाले अभिभावकहरुले आफ्नो सन्तानहरुलाई सो बारेमा शिक्षा दिनुपर्ने बताउनु भयो ।

उहाँले विद्यार्थीहरु हाल विज्ञान, अंग्रजी र गणित विषयमा कमजोर देखिएको कारणले यस संस्थाले आफ्नो तालिम हलमा सो विषयहरुको विहान बेलुका कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई सहयोग गर्न सुझाव दिनुभयो । उहाँले राम्रो बोली र संगतले असल व्यक्तित्वको परिभाषा दिने भन्नुहुँदै राम्रो बोेली बोल्ने बानी विकास घरबाट नै सुरु हुने हुँदा यसमा अभिभावकहरुको अहम भुमिका रहने बताउनुभयो ।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी निर्देशन अनुसार साधारण सभा सञ्चालन भएकोे जानकारी दिनुभयो । उहाँले संस्थाको लाभाशं प्रतिशत कम हुनुमा संस्थाले ऋण सुरक्षण कोषमा विगतको भन्दा बढि रकम व्यवस्थापन गर्नको कारण हो भन्नुहुँदै सदस्यहरुको कारोवारको आधारमा सहकारी ऐन नियमावली बमोजिम बचत कर्ता र ऋणी सदस्यहरुलाई संरक्षित पुँजी फिर्ता कोष वितरण हुने समेत जानकारी दिनुभयो । साथै संस्था स्थापना कालमा यस संस्थाले अन्य सदस्यहरुको साथ साथै आफ्नो पनि व्यक्तिगत क्षमता अभिबृद्धि भएको र संस्थाबाट ऋण उपभोग गरी व्यवसाय सञ्चालन गरेको स्मरण गर्नुभयो ।

कार्यत्रक्रममा संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुले सिद्धि गणेश साकोस एक सफल सहकारी बन्नुमा सदस्यहरुको वर्षौ देखिको योगदानको देन रहेको बताउनुभयो । उहाँले सदस्यहरुको साँस्कृतिक स्तर उत्थान गर्न भाषा सम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने बताउनुभयो । हालै सम्पन्न भएको ३१औं वार्षिक साधारण सभाको सूचना तथा गतिविधिहरु सामाजिक सञ्जालमा प्रकाशन गर्दा सदस्यहरुको विभिन्न गुनासोलाई स्वागत गर्दै सामाजिक सञ्जालमा भन्दा पनि कार्यालयमै आई सुझाव दिएमा अझ राम्रो हुने कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थाका सचिव विष्णु प्रसाद दुमरुले संस्था ३१ वर्ष देखि सदस्य एवं समुदायको हित र विकासका लागि निरन्तर लागी परेको बताउनुभयो । उहाँले विगतमा कृषकहरुसंग अन्न बाली मात्र हुने तर नगद नभएको अवस्थामा साहु महाजन सँग ऋण लिँदा ऋणको साँवा एकमुष्ट भुक्तानी गर्नुपर्दा किसान र न्यून आय भएकाहरुलाई समस्या भएको बताउँदै न्यून आय भएका सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकास गर्न हेतुले संस्था स्थापना भएको भन्नुभयो । उहाँले संस्थाको आमन्त्रणमा पाल्नुभएको विभिन्न प्रमुख अतिथिहरुको सुझाव अनुरुप इमानदारिता र सिद्धान्तको पालन गरी संस्था सञ्चालन गर्दा संस्था सुरक्षित र सफल भएकोे उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले संस्थामा हाल शेयर पूँजी २६ करोड २२ लाख ४७ हजार, जगेडा कोष २७ करोड ५८ लाख ७३ हजार, अन्य कोषहरु ३ करोड २७ लाख १० हजार, कूल बचत रकम २ अर्व ६६ करोड ४४ लाख ५४ हजार , ऋण लगानी १ अर्व ८३ करोड ४४ लाख ९० हजार, तरलता ५१ करोड ३ लाख ९४ हजार र कूल सम्पत्ती ३ अर्व ३४ करोड १२ लाख ६२ रहेको जानकारी दिनुभयो । उहाँले अध्ययन र अनुसन्धान गर्नुपर्नेमा जोडदिँदै सहकारी संस्थाले उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।