मानसिक रोग सम्बन्धी परामर्श तथा निःशुल्क सुगर र रक्तचाप परिक्षण कार्यक्रम
भक्तपुर, ५ पुस । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिकोे आयोजना तथा ख्वप अस्पतालको प्राविधिक सहयोगमा मानसिक रोग सम्बन्धी परामर्श तथा निःशुल्क सुगर र रक्तचाप परिक्षण कार्यक्रम सिद्धि गणेश तालिम हल, खचाँमा सम्पन्न भयो ।
कार्यक्रममा संस्थका अध्यक्ष रुद्र नारायण लाखाले मानसिक रोग नदेखिने प्रकारको रोग भएको हुनाले यसबारे सदस्यहरुलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले सदस्यहरु स्वस्थ रहे मात्र संस्था स्वस्थ रहने उल्लेख गर्नुहुँदै सदस्यहरुको स्वास्थ्यको निम्ति संस्थाबाट विभिन्न स्वास्थ्य शिविरहरु एवं स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले समस्यामा परेका सहकारी संस्थाको नियमनका लागि जारी भएको निर्देशनहरुले समुदायमा आधारित सहकारी संस्थाहरु र सहकारी क्षेत्र नै संकोचित गर्ने प्रयास भई रहेको चर्चा गर्नुहुँदै सहकारीका सदस्यहरु आफु संलग्न सहकारीबारे जानकार हुनुपर्ने आवश्यकता औल्याउँनुभयो ।
अध्यक्ष लाखाले संस्थाका बचतकर्ताका साथ साथै ऋणी सदस्यहरुले आफ्नो दायित्व पुरा गरी समयमै ऋणको साँवा व्याज भुक्तानी गरे मात्र संस्था सुरक्षित हुने बताउँदै राष्ट्रिय सहकारी नियमन प्रधिकरणबाट जारी भएका निर्देशनानुसार ऋण सुरक्षण कोषको व्यवस्थाले संस्थाको कुल नाफामा असर गरी सदस्यहरुले पाउने लाभाशं प्रतिशत प्रवाभित भएको जानकारी दिनुभयो । उहाँले संस्थाको ३२औं स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिहरुको आयोजनामा गरीने बचत र AI सम्बन्धी जानकारीमूलक कार्यक्रम, पाक शिक्षा तालिम, पुतली बनाउने तालिम, गुडपाक, पुस्ताकारी र सुत्केरी मसला बनाउने तालिम, अन्तर विद्यालय÷सहकारी हाजिरीजवाफ प्रतियोगिता तथा संस्थाको परिवर्तित ऋण नीति सम्बन्धी जानकारी र भेटघाट कार्यक्रमबारे जानकारी दिनुका साथै सो कार्यक्रमहरुमा सदस्यहरुको सहभागीताको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रमका सभापति उपसमितिका संयोजक एवं संस्थाका सञ्चालक सदस्य रमेश दुमरुले सदस्यहरुको माग अनुसार कार्यक्रम आयोजना गरिएको भन्नुहुँदै सरकारमा रहेका नेताहरु जनताको सेवा र देश विकासमा भन्दा आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न र भ्रष्टचार गर्नमा बढि संलग्न रहेको कारणले देशका व्यापार व्यवसाय असफल भई आर्थिक मन्दीको अवस्था श्रृजना भएको प्रति चिन्ता व्यक्त गर्नुभयो । साथै सो अवस्थाका कारणले राष्ट्रको अर्थतन्त्र मात्र प्रवाभित नभई जनताको मानसिक स्थितिमा समेत प्रतिकुल असर पार्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य तुल्सी दास दुमरुले आफुमा रहेको रोगको पहिचान गर्न र रोग निवारण गर्न चिकित्सक परामर्शको आवश्यकता हुने उल्लेख गर्नुहुँदै संस्थाबाट सञ्चालित सिद्धि गणेश स्वास्थ्य क्लिनिकमा न्यून शुल्कमा जनरल, डेण्टल, फिजियोथेरापी र मुटुरोग सम्बन्धी सेवाहरु प्रवाह हुँदै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका मानसिक रोग विशेषज्ञ डा. विवेक न्योपानेले मानसिक रोगका प्रकार, लक्ष्यण र ती रोगका उपचार विधिहरुबारे प्रस्तुतीकरण गर्नुभयो । उहाँले मानसिक रोग भएका व्यक्तिहरुले आ–आफ्नो निजी विचार, अनुभूति वा व्यवहार अनुसार समस्याहरू अनुभव गर्न सक्ने र उनीहरूका सोचाइ, भावना र व्यवहार सबै मिश्रण हुने हुँदा अन्य मानिसहरूसँग उनीहरूका सम्बन्ध, उनीहरूका काम र जीवनका आनन्दसँग सम्बन्धलाई उल्लेखनीय ढङ्गमा हस्तक्षेप गर्ने जानकारी दिनुभयो । उहाँले मानसिक पीडा हुने परिस्थिति, व्यक्ति र परिवार, दुवैका लागि गाह्रो हुने उल्लेख गर्नुहुँदै सो समस्याको समाधानका लागि चिकित्सकको परामर्श लिन लजाउन नहुने बताउनुभयो ।
उहाँले नेपालमा कोभिड १९ को महामारी पश्चात नागरिकहरुमा मानसिक समस्यहरु बढि देखा परेको जानकारी दिनुहुँदै मानसिक रोग सम्बन्धी भएका अनुसन्धानहरुको नतिजाले आगामी ५ वर्षमा नेपालका ३१ प्रतिशत नागरिकहरुमा मानसिक रोगको समस्या देखा पर्नसक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले व्यक्तिमा निरन्तर १५ दिन सम्म अनियन्त्रित चिन्ता भएको अवस्थामा उनीहरुमा मानसिक रोगको लक्ष्यण हुन सक्ने बताउँदै सो को समयमै परिक्षण र उपचार नगराएमा अत्महत्या जस्तो मानविय क्षति हुने विचार समेत आउने भएकोले समयमै चिकित्सक परामर्श अपनाउन सचेत गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र उपसमितिका सचिव प्रकाश प्रजापतिले पनि बोल्नुभएको थियो । साथै कार्यक्रममा ५० जना सदस्यहरुलाई निःशुल्क सुगर तथा रक्तचाप परिक्षण र मानसिक रोग सम्बन्धी परामर्श प्रदान गिरएको थियो ।