बधाई ज्ञापन एवं प्रशंसा पत्र वितरण कार्यक्रम । कार्तिक २२
भक्तपुर, २२ कार्तिक । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजना तथा नेमकिपाका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंज्यूको प्रमुख आतिथ्यतामा संस्थाका असल बचतकर्ता, असल ऋणी तथा उत्कृष्ट विद्यार्थीहरु(SEE र +2)लाई बधाई ज्ञापन एवं प्रशंसा–पत्र वितरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंले वर्तमान बचत तथा ऋण कारोवार गर्ने सहकारी संस्थाहरु बैंक सरह हुँदै गएको कारण गरिब किसान र जनताको लागि कृषि सहकारी संस्था स्थापना गरी कृषि क्षेत्र विकास गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो ।
उहाँले युवाहरु रोजगारीको लागि विदेशीनु प्रति चिन्ता व्यक्त गर्नुहुँदै राम्रो सरकारले शिक्षा र कृषि विकास गरी स्वदेशमै रोजगारी श्रृजना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशिएका युवाहरुको हितका लागि विदेशी राष्ट्रबिच पूर्व सम्झौताहरु गर्न जरुरी रहेको बताउँनुभयो ।
उहाँले सहकारी संस्थाको बचत रकम उत्पादनशील क्षेत्रमा लगानी नभई बैंकमा जम्मा गर्दा सो रकम देशका पुँजीवादीहरुको हातबाट विदेशिन उल्लेख गर्दै सो को कारणले देशमा महङ्गाई बढि गरिब जनतालाई आर्थिक भार हुने बताउनुभयो । साथै अर्थशास्त सम्बन्धी कक्षाहरु सञ्चालन गर्न जोड दिनुभयो ।
नेमकिपा अध्यक्ष बिजुक्छेंले सामाजिक भेटघाट र बैठकहरु मार्फत राजनैतिक चेतना प्रदान गर्दै जानुपर्ने भन्नुहुँदै सहकारी संस्थाहरुले आर्थिक कारोवारमा सिमित नरही शिक्षा क्षेत्रमा विकास गर्न विभिन्न तालिम, अन्र्तक्रिया एवं गोष्ठीहरु आयोजना गर्न सुझाव दिनुभयो ।
उहाँले संस्थाका असल बचतकर्ताहरु ज्ञानमाया लाखा, लक्ष्मी सुन्दर दुमरु र कृष्ण चरण पलँकर्मी, असल ऋणीहरु कृष्णराम गोसाई, राधेश्याम दथेपुथे र राजकुमार मचामसी, सार्वजनिक विद्यालयको एस.ई.ई. उर्तीण तर्फ उत्कृष्ट विद्यार्थीहरु अनुश्का पक्का सुभेच्छा सुवाल, रशिक मुस्याख्व, निजी विद्यालयको एस.ई.ई.उर्तीण तर्फ उत्कृष्ट विद्यार्थीहरु प्रतिमा तचामो, अनुप बोहजु, प्राची कर्माचार्य तथा +२ तर्फ ब्यवस्थापन संकायबाट मनिला ग्वाछा, विज्ञान संकायबाट सेफिना लागे र शिक्षा शास्त्रबाट श्रीया गाईजुलाई प्रशंसा–पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले सिद्धि गणेश साकोस स्थापनाकाल देखि समुदायमा आधारित भई समाजको आर्थिक समृद्धिको लागि कार्य गर्दै आएको बताउनुभयो । उहाँले संस्थाको सामाजिक दायित्व पुरा गर्न संस्थाबाठ नियमित सिपमूलक तथा आयमूलक तालिमहरु एवं सदस्यहरुको स्वास्थ्यको लागि स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको बताउनुभयो । अध्यक्ष लाखाले सहकारीका सदस्यहरुमा पनि समुदायिक भावना हुनुपर्ने र व्यक्तिगत विकास भन्दा समुदायिक विकासमा जोड दिनुपर्ने बताउनुभयो । साथै उहाँले माथिल्लो निकायद्धारा नियमन अनुगमन हुदा प्राप्त भएको सुझाव अनुसार नै संस्थालाई अगाडी बढाएको कुरा प्रस्त पार्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले माथिल्लो निकायका संघ संस्थाले आर्थिक कारोवार भन्दा निरिक्षण अनुगमनमा जोड दिई सहकारी संस्थाहरुलाई आवश्यक तालिमहरु प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्थाले आर्थिक कारोवार मात्र नगरी संस्थाका सदस्यहरुको सामाजिक र साँस्कृतिक विकासका निम्ति बाँसुरी, मादल, पछिमा आदिको तालिमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । साथै संस्थाको बारेमा सदस्यहरुले विस्तृत रुपमा जानकारी लिन साधारण सभा लगायत अन्य कार्यक्रमहरुमा सक्रिय सहभागि जनाउन पर्ने बताउनु भयो । कुनै पनि सूचना प्राप्त हुदा सोको वास्तविकता सम्म पुग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका सचिव विष्णु प्रसाद दुमरुले नेमकिपाका अग्रजहरुको सुझावलाई स्वीकार गरी इमानदारिताका साथ पारदर्शी भई संस्था सञ्चालन गर्दै आएको कारण संस्था सफल बनेको बताउनुभयो । उहाँले संस्था बचत तथा ऋण कारोवारमा मात्र सिमित नरही किसानहरुको समस्या हल गर्न विगतमा मलको विक्री वितरण एवं सदस्यहरुको स्वास्थ्यको मध्येनजर गरी सिद्धि गणेश स्वास्थ्य क्लिनिक सञ्चालन गर्नुका साथै निरन्तर सामाजिक एवं सामुदायिक कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले असोज मसान्त सम्ममा संस्थाको शेयर पूँजी २५ करोड ८९ लाख ९५ हजार, जगेडा कोष २७ करोड ५८ लाख ८२ हजार , विभिन्न कोषहरु १ करोड ८ लाख ९३ हजार, कुुल बचत रकम २ अर्व ६९ करोड ७७ लाख ९६ हजार, ऋण लगानी १ अर्व ८८ करोड ७६ लाख, २७ हजार, तरल लगानी १ अर्व ६ करोड , तरलता ४६ करोड ८८ लाख ३८ हजार र कुल सम्पत्ती ३ अर्व ३४ करोड
२८ लाख ८६ हजार रहेको वित्तीय विवरणको जानकारी दिनुभयो । साथै संस्थाले लाभाशंलाई भन्दा पनि सदस्य सेवालाई नै प्राथमिकतामा राखी कार्य गरेको बताउनु भयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।
