बचत र ए.आई सम्बन्धी जानकारीमूलक कार्यक्रम । पुस १०, 2082
पुस १०, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को ३२औं स्थापना दिवसको अवसरमा संस्थाको बचत उपसमितिको आयोजनामा बचत र ए.आई सम्बन्धी जानकारीमूलक कार्यक्रम सिद्धि गणेश तालिम हल खँचामा सम्पन्न भयो ।
कार्यक्रमका अतिथि नेपाल क्रान्तिकारी युवा संघका अध्यक्ष मिनबहादुर बाटाले ए.आई प्रविधिको सकारात्मक र नकारात्मक दुवै पक्ष हुने बताउँदै ए.आईको राम्रा पक्षहरुको मात्र उपयोग गर्नुपर्ने बताउनुभयो । उहँले विगतमा प्रत्यक्ष युद्धहरु हुने गरेकोमा हाल देशहरुबीच प्रविधिको प्रयोग गरी अप्रत्यक्ष युद्ध बढि हुने गरेको जानकारी दिनुभयो ।
उहाँले युवा पुस्तालाई राजनीतिक चेतना प्रदान गर्नुपर्ने आजको आवश्यकता रहेको भन्नुहुँदै गत भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनमा नेपाली युवाहरुको भावनालाई प्रयोग गरी विदेशीहरुले त्यसको फाइदा उठाएको तथ्य विस्तारै खुल्दै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद नारायण लाखाले सदस्यहरुलाई प्रविधिबारे सुसूचित गर्र्ने उद्देश्यले कार्यक्रम आयोजना भएको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सञ्चालक सदस्य एवं उपसमिति संयोजक कृष्ण गोविन्द लाखाले हाल सहकारी संस्थाहरुमा आएको समस्याबारे चर्चा गर्नुहुँदै सहकारी संस्थाका सञ्चालकहरुले व्यक्तिगत फाइदामा भन्दा सदस्यको सेवा र विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समाज उत्थानका लागि सभ्य सहकारी प्रणली र समाजवादी व्यवस्थाको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका प्रशिक्षक सिनियर सफ्टवेर डेभ्लोपर गोपाल किसीले प्रविधि सम्बन्धी जानकारी लिन ढिलो गरे समाजमा आफू पछि पर्ने बताउँदै प्रविधिलाई अत्यावधिक गरी अघि बढे मात्र जिवनमा सफल बन्ने बताउनुभयो । उहाँले कार्यक्रममा ए.आई प्रविधिको प्रयोगबाट गर्न सकिने विभिन्न क्रियाकलापहरुको प्रयोगयात्मक अभ्यासबाट प्रस्तुतीकरण गर्नु भएको थियो । उहाँले ए.आई प्रविधि हाम्रो दैनिक कार्यहरुमा समेत प्रयोग हुने बताउँदै डिप फेक जस्ता ए.आई प्रविधिको दुरुपयोगले हाल समाजमा विकृति फैलीदै गएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई, उपसमितिका सचिव चिरी मैया लाखाजु तथा उपसमिति सदस्य सुन्दर मानन्धरले पनि बोल्नुभएको थियो ।