अन्तर विद्यालय/सहकारी हाजिरी जवाफ प्रतियोगिता । पुस १२, २०८२

अन्तर विद्यालय/सहकारी हाजिरी जवाफ प्रतियोगिता । पुस १२, २०८२

पुस १२, भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को ३२औं स्थापना दिवसको अवसरमा शिक्षा उपसमितिको आयोजनामा अन्तर विद्यालय÷सहकारी हाजिरी जवाफ प्रतियोगिता सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
प्रतियोगितको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवांले हाजिरी जवाफ प्रतियोगिताले देशको इतिहास, समसामयिक विषयहरु तथा सामान्य ज्ञानको ज्ञान प्रदान गरी विद्यार्थीहरुको व्यक्तित्व विकासमा टेवा पु¥याउने बताउनुभयो साथै प्रतियोगिताले सहकारी संस्थाका बाल बचतकर्ताहरुहरुलाई सहकारीबारे सुसूचित गर्ने उल्लेख गर्नुभयोे ।
उहाँले देशका शासक दलका नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न नातावाद क्रिपावाद गरी राष्ट्रका नीतिहरु परिमार्जन गर्नाले युवाहरुमाझ समान अवसरहरु प्रदान नगर्नाले देशका युवाहरु विदेशिनु परेको अवस्था प्रति चिन्ता व्यक्त गर्नुभयो । साथै देशको लिएको ऋण र जनताबाट उठाएको करको सदुपयोग नहुनु देश विकास नहुनुको मुख्य कारण रहेको बताउनुभयो । उहाँले युवाहरु माझ समान अवसरहरु प्रदान गर्न राज्यबाट समान शैक्षिक अवसर प्रदान गर्नुपर्ने आवश्यकता औल्याउँनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले प्रतियोगिताले सहकारी सम्बन्धी जानकारी प्रदान गर्ने उल्लेख गर्नुभयो । उहाँ समाजमा समुदायमा आधारित र पूँजी संकलन गर्ने दुई प्रकारका सहकारीहरु रहेको भन्नुहुँदै पूँजीवादी सहकारी संस्थामा कारोवार गर्दा आफ्नो बचत सुरक्षित नहुने बताउनुभयो । उहाँले संस्थाको ३२औं स्थापना दिवसको अवसरमा आयोजना भएका विभिन्न कार्यक्रहरुबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सञ्चालक सदस्य कृष्ण गोविन्द लाखाले समान उद्देश्यका साथ समाजिक र आर्थिक विकासका निम्ति कार्य गर्ने न्यून आय भएको समूह नै सहकारी संस्था रहेको बताउनुभयो । उहाँले सानै उमेर देखि नै सहकारीबारे चेतना प्रदान गर्दै जानुपर्ने आवश्यकता औल्याउँनु हुँदै हाजिरी जवाफ प्रतियोगिता सहकारी सिद्धान्तको पाँचौं सिद्धान्त अनुसार शिक्षा, तालिम र सूचना अन्तरगतको रहेको बताउँनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र उपसमितिका सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो । १२ वटा समूहले सहभागिता जनाएको उक्त प्रतियोगितामा २५५ अंक सहित बासु मा. वि प्रथम, २४० अंक सहित वागिश्वरी मा. वि दोस्रो, २१० अंक सहित भक्तपुर साकोस तेस्रो र १५० अंक सहित ख्वप्रिङ्ग इङ्गलिस एकेडेमीले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।