सिद्धि गणेश साकोस बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था हो । यसले स्थापनाकाल देखि नै बचत तथा ऋण सहकारी संस्थाको मर्म र सिद्धान्तअनुरुप विभिन्न गतिविधि गर्दै आएको छ ।
सहकारीहरुमा देखिएको नकारात्मक कुरालाई नियमन गर्न सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन गरि सकेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ मा सहकारी ऐनमा संशोधन गरी परिच्छेद १७ (क) थप गरी दफा १०३(क) मा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न जिल्ला अदालतलाई भए सरहको अधिकार हुने गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना गरेको हो । मिति २०८१/०९/१९ मा “सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरिएको (चौथौ संशोधन) निर्देशन २०८१”, नेपाल राष्ट्र बैंकबाट पनि मिति २०८१/१२/२१ मा “बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१” जारी गरिएको छ । त्यसै गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट पनि मिति २०८२/०२/०९ गते “बचत तथा ऋणको मूख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड २०८२” जारी गरिएको छ । गत आर्थिक वर्षको अन्तमा मिति २०८२/०३/३२ गते सहकारी विभागबाट “सहकारी संघसंस्थामा सुशासन प्रवद्र्धनको लागि एकीकृत निर्देशन २०८२” जारी भएको थियो । नियमनकारी निकायबाट यसरी विभिन्न मितिमा जारी भएको मापदण्ड तथा निर्देशनको पालना गरी सिद्धि गणेश साकोसले गत आर्थिक वर्षको बाह्य लेखा परीक्षण गरिएको पनि सम्पूर्ण सदस्यहरुमा जानकारी गराउन चाहन्छु ।
यी विभिन्न निर्देशन र मापदण्डहरुमा भएको प्रमुख बुँदाहरु मध्ये प्राथमिक पुँजी गणना, व्यक्तिगत बचत तथा ऋण सीमा, संचालक समितिको संख्या, कर्जा वर्गीकरण, ऋण नोक्सानी व्यवस्था, तरलता गणना, पूँजीकोष सम्बन्धी व्यवस्था, जोखिम भारित सम्पत्ति, न्यूनतम पूँजीकोष कायम नभएमा लाभाशं घोषणा र वितरण गर्न नपाउने व्यवस्था हुन् । २५ करोड रुपैयाँभन्दा बढी बचत रहेको वा ऋण बक्यौता
रहेको संस्थालाई ठुलो कारोबार गर्ने संस्था भनि परिभाषित गरिएको छ ।
सहकारी संस्थामा आर्थिक कारोबार हुने भएकोले यस संस्थामा स्थापना कालदेखि नै सुशासन कायम गर्न आवश्यक नीति नियम बनाई पालना गर्नुका साथै गुणस्तर कार्यक्रम एक्सेस (ACCESS – A one Competitive Choice for Excellence in Service and Soundness) मा पनि सहभागी भएको हुनाले मापदण्ड र निर्देशनमा आएका कतिपय व्यवस्थाहरु पहिले नै पालना गर्दै आएको जानकारी गराउन चाहन्छु । सुशासन र आर्थिक पारदर्शिता भएको हुनाले नै सदस्यहरुको विश्वास जित्न सफल यस संस्थाले आगामी दिनहरुमा सदस्यहरुलाई प्रभावकारी वित्तीय सेवा प्रदान गर्नका लागि व्यवस्थापन तत्पर छौं । साथै सदस्यहरुबाट पनि संस्थालाई विगतमा झैं निरन्तर सल्लाह, सुझाव प्राप्त हुनेमा विश्वस्त छौं ।
धन्यवाद ।