सर्वप्रथम सम्पूर्ण शेयर सदस्यहरुमा विजया दशमी तथा दिपावलीको शुभअवसरमा सु–स्वास्थ्य दीर्घायुको शुभकामना व्यक्त गर्दछु ।
आज हामी संस्थाको ३१औं साधारण सभामा उपस्थित भई रहेका छौं । स्थानीय चोर्चा टोलका ३१ जना युवा साथीहरु मिलेर रु. ३१००।– जम्मा गरी संस्था स्थापना गरेका थियौं । संस्था स्थापना गर्दा समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा विकास गरी समाज सु–संस्कृत बनाउने उद्देश्य लिएका थियौं ।
समाजमा आर्थिक रुपमा पछाडी परेका वर्गको उत्थानका लागि सहकारी उत्तम माध्यमको रुपमा लिन सकिन्छ । सहकारीको माध्यमबाट आर्थिक उन्नयन गर्न सीपमूलक तालिम, व्यक्तित्व विकासका अवसरहरु प्रदान गर्न विभिन्न कार्यक्रम सञ्चालन गरी समुन्नत समाजको विकास गर्ने दायित्व सहकारीले वहन गर्दै आई रहेको छ ।
संस्थाले स्थापनाकालदेखि नै सहकारी मूल्यमान्यता, सिद्धान्त, पारदर्शितालाई आत्मसाथ गर्दै आएको सर्वविदतै छ । वर्तमान समयमा व्यक्तिगत रुपमा सहकारी स्थापना गरी सहकारीबारे जनमानसमा नकारात्मक भावना विकास भएको हुँदा समुदायमा आधारित संस्थाहरुले सदस्य र समुदायबीच व्यक्तिगत सहकारी र
समुदायमा आधारित सहकारीको भिन्नता बारेमा सु–सूचित गर्ने कार्यक्रमहरु गर्न आवश्यक छ । यसको लागि यस संस्थाले खुल्ला रुपमा विभिन्न शिक्षामूलक, स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएका छौं ।
आ.ब. २०८१/०८२ सालमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन मिति २०८२/०२/०९ गते राष्ट्रिय सहकारी नियमन प्राधिकरणले मापदण्ड जारी गरिएको थियो । सोहि बमोजिम नीतिनियममा एकरुपता ल्याउनका लागि यस संस्थाले आप्mनो विनियम २०५१ संशोधन र एकिकरणका साथै आन्तरिक नीति तथा कार्यविधिहरुमा संशोधन गर्ने कार्यलाई प्राथमिकतामा राखेका छौं । यसका साथै संस्थाले समय र परिस्थितिलाई ध्यानमा राखेर प्रविधि मैत्री बनाई अगाडी बढेको छ । यसलाई सदस्यहरुले उपयोग गर्नमा विश्वस्त छु ।
यो संस्था यहाँसम्म पु¥याउन सहयोग गर्ने सदस्य, शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा सल्लाह र सुझावको अपेक्षा गर्दछु ।
जय सहकारी !