बचत सम्बन्धि सदस्यहरुबीच अन्तरक्रिया कार्यक्रम । पुस २३, २०८१

बचत सम्बन्धि सदस्यहरुबीच अन्तरक्रिया कार्यक्रम । पुस २३, २०८१

२३ पुस, भक्तपुर । यस सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३१औं स्थापना दिवसको अवसरमा बचत उपसमितिको आयोजनामा बचत सम्बन्धी सदस्यहरुबीच अन्तरक्रिया कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाका संस्थापक सदस्यहरु सबै सामाजिक क्षेत्रमा लागि रहेको भन्नुहुदै संस्था स्थापनाकाल देखि नै समुदायमा आधारित भई सञ्चालन हुँदै आएको बताउनुभयो । उहाँले नियमित बचत गर्नुपर्ने महत्व बारे चर्चा गर्नुहुँदै ३१ जना जागरुक युवाहरुको रु.१०० को नियमित बचतबाट सुरु भएको संस्थामा हाल १७ हजार सदस्य र ३ अर्ब १५ करोडको सम्पत्ति जम्मा भएको जानकारी दिनुभयो ।
उहाँले सहकारी संस्थाले सदस्यहरुलाई ऋणी नभई उद्यमी बनाउनुपर्नेमा जोड दिनुहुँदै संस्थाले नाफामुखी उद्देश्य राख्नु भन्दा सदस्यहरुको आर्थिक क्षमता अभिबृद्धि गर्ने उद्देश्य राख्नुपर्ने बताउनुभयो । साथै संस्थाले सदस्यहरुलाई आर्थिक लाभको अवसर प्रदान गर्न विभिन्न सिपमुलक तथा आयमुलक तालिम सञ्चालन गर्दै जानुपर्ने बताउनुभयो ।
उहाँले सदस्यहरुको स्वास्थलाई मध्यनजर गरी सिद्धि गणेश स्वास्थ्य क्लिनिक तथा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउँदै रोग लाग्नुको धेरै कारण मध्य अस्वस्थ्य खानपान पनि रहेको भन्नुभयो । अध्यक्ष लाखाले घरमै बनेको खाना स्वस्थ्यकर हुने हुँदा संस्थाबाट सदस्यहरुलाई पाक शिक्षा तालिम, अचार बनाउने तालिम, पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको र संस्थाको ३१औं स्थापना दिवसको अवसरमा मस्यौरा बनाउने तालिम सञ्चालन हुने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य तुल्सी दास दुमरुले मानसिक तनाबका कारण युवाहरुमा डिप्रेसन जस्ता रोग देखा परेको बताउँदै साने भन्दा सानो रोगको चिकित्सक परामर्श नलिएमा पछि रोग जीवन घाटक बन्दै जाने भन्नुभयो । उहाँले संस्थाको स्थापना दिवसको अवसरमा सम्पन्न निःशुल्क मुटुरोग, हाडजोर्नी तथा नसारोग सम्बन्धी स्वास्थ्य शिविरमा मुटुरोग सम्बन्धी परामर्श लिने सदस्यहरुको संख्या धरै रहेको र समयको पाबन्दीका कारण सबैले परामर्श लिन नपाएको हुँदा पुन मिति २०८१ पुस २७ गते मुटुरोग सम्बन्धि स्वास्थ्य शिविर आयोजना गरिने जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका सञ्चालक सदस्य कृष्ण गोबिन्द लाखाजुले अन्तरक्रिया कार्यक्रममा सदस्यहरुले आफ्नो सुझावहरु प्रस्तुत गर्नुपर्नेमा जोड दिनुहुँदै सदस्यहरुको सुझवलाई छलफल गरी संस्थाका नीति निमार्ण गरिने बताउनुभयो । उहाँले सिद्धि गाणेश साकोस नेपालको सहकारी अभियानको एक प्रारम्भिक सहकारी रहेको बताउँदै संस्था स्थापना काल देखि नै समुदायमा आधारित रहेको भन्नुभयो ।
उहाँले सहकारी संस्था नाफामुखि नभई सामाजिक भावना विकास गर्ने हुनुपर्ने भन्नुहुँदै जगेडा कोष बलियो भएका सहकारी संस्था दिगो हुने बताउनुभयो । उहाँले हाल देशमा २०० वटा मात्र सहकारी संस्था समस्या ग्रष्ट रहेको जानकारी दिनुहुँदै हालै पारित सहकारी सम्बन्धि अध्यादेशले समुदायमा आधारित सहकारी संस्था सञ्चालनको क्षेत्रलाई संकोचित बनाएको बताउनुभयो । साथै सो अध्यादेशको देश भरी नै बचत तथा ऋण सहकारी संघ र संस्था एकजुत भई विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका निमित्त व्यवस्थापक चन्द्र प्रसाद दुमरुले आजको बचत नै भोलीको भविष्य हो भन्नुहुँदै सहकारी संस्थाले नियमित बचत गर्ने बानीको विकास गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले सर्वोत्कृष्ट वित्तीय समाधानका लागि सिद्धि गणेश परिकल्पनाका साथ संस्थाले बचत तथा ऋण सुविधाका साथ साथै अन्य मोबाइल बैंकिङ, बिमा, मनि ट्रन्सफर तथा कनेक्ट आइ.पि.स सेवाहरु समेत संस्थाले प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले संस्थामा उपलब्ध विभिन्न बचतका प्रकारको चर्चा गर्नुहुँदै सदस्यहरुले बचत तथा ऋण कारोवार गर्न संस्थामा उपलब्ध विभिन्न प्रविधिको पनि उपयोग गर्न आग्रह गर्नुभयो ।
उपसमितिका सचिव चिरी मैया लाखाजुले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपसमितिका सदस्य सुन्दर मानन्धरले पनि बोल्नुभएको थियो ।