पन्ध्रदिने पाक शिक्षा तालिमको शुभारम्भ कार्यक्रम(असार १२)

पन्ध्रदिने पाक शिक्षा तालिमको शुभारम्भ कार्यक्रम(असार १२)

भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि। को युवा उपसमितिको आयोजनामा पन्ध्रदिने पाक शिक्षा तालिम सिद्धि गणेश तालिम हल, खँचामा शुभारम्भ भयो ।
तलिमको शुभारम्भ कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाले बचत सेवा तथा ऋण सुविधाका साथ साथै विभिन्न सिपमूलक तथा आयमूलक तालिमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आएको बताउदै संस्थाबाट तालिम लिएर तालिम सम्बन्धि व्यवसाय सुरु गर्न प्रोत्साहन दिनुभयो । साथै तालिम प्राप्त सदस्यहरुको व्यवसायिक प्रगती र सफलता प्रतक्ष रुपमा देख्न पाउँँदा संस्था आफै सफल भएको अनुभुति हुने बताउनुभयो । अध्यक्ष लाखाले कुनै पनि तालिममा बस्दा सुशासति र अनुशासित नभए तालिममा बसेको औचित्य नरहने भन्नुहँुदै अनुशासन नै सफलताको मर्म रहेको बताउनुभयो ।
संस्था प्रति सदस्यहरुको पूर्ण विश्वासका कारण संस्था कुनै पनि समस्यामा नपरेको  धारणा व्यक्त गर्दै सामाजिक उत्थान र परिवर्तन  गर्ने उद्देश्यका साथ संस्था अघि बढि रहेको छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक सुनिल सुवालले कुनै पनि काम गर्दा सुरुवातमा संघर्ष नगरी सफलताको शिखर चुम्न नसक्ने कुरा औल्याउँनु भयो । साथै कर्म प्रति निष्ठावान भएर निरन्तर रुपमा लागि रहे बिस्तारै आफ्नो क्षमता र सिपमा निपुणता झल्किदै जाने र सफलता अफै पछ्याउँदै आउने बताउनुभयो । उहाँले नयाँ सिप र ज्ञानका लागि तालिम आवश्यक हुने बताउदै पाक शिक्षामा आधरभुत ज्ञान भए विभिन्न परिकारहरु सजिलै बनाउन सकिने भन्नुभयो ।
कार्यक्रमका सभापति युवा उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुलले सहकारी संस्थाका सदस्यहरु संस्थाको मालिक हुन भन्नुहुँदै सहकारी संस्थाहरु सदस्य प्रति जिम्मेवार भई उनीहरुको आर्थिक, सामाजिक  तथा बौद्धिक  बिकास गर्ने लक्ष्यका साथ अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालमा वैेदेशिक रोेजगारीका लागि गएका युवाहरुले दुःख भोग्नु परेको थुप्रै सूचना देख्दा देख्दै पनि हाल युवाहरुमा वैदेशिक रोजगारीको रुची बढि रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उपाध्यक्ष दुमरुले आवश्यक तालिम लिइ अत्मनिर्भर बन्न सके  वैदेशिक रोजगारीमा जानु भन्दा स्व–देशमै व्यवसाय शुरु गरी सफल बन्न सकिने बताउनुभयो ।
कार्यक्रममा उपसमितिका सचिव जसतारा कोजु, संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रर्वद्धन अधिकृत बिमल लवजुले पनि बोल्नु भएको थियो ।

This will close in 0 seconds