सिद्धि गणेश साकोसको २७ औं स्थापना दिवस सम्पन्न
२९ पुस, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं स्थापना दिवस भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सहकारीको सञ्चालनमा पनि वर्गीय सोच हुने धारणा राख्नुहुँदै सहकारीले शोषण गर्ने माध्यमका रुपमा होइन गरीव जनताको असल साथीको रुपमा सेवा गर्ने ढंगले सहकारी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । संकट र विपत्तको बेला सहयोग गर्नुपर्ने भावना सिद्धि गणेशले भनपाको एकान्तवास केन्द्र सञ्चालनका लागि २० लाख रुपैयाँ सहयोग गरेर देखाएको चर्चा गर्नुहुँदै सो कार्यले अन्य संस्थाहरुलाई पनि सहयोग गर्न अभिप्रेरित गरेको जानकारी दिनुभयो । जनस्तरबाट सार्वजनिक सम्पत्ति र सम्पदा संरक्षण गर्ने कार्य भक्तपुर नगरको बिशेषता भएको धारणा राख्नुहुँदै सहकारी संस्थाहरुले पनि सम्पदा संरक्षणमा उदाहरणीय कार्यहरु गर्न सकिने सुझाव राख्नुभयो ।
भनपाको ७ नं. का वडाध्यक्ष उकेश कवांले अतिथिको आसनबाट बोल्नुहुँदै सिद्धि गणेशमा आफु सदस्य भएदेखि २०२६ सालतिरको नवदुर्गा बहुमुखी सहकारीको उदाहरण दिँदै सञ्चालकहरुलाई पारदर्शी र इमान्दार रहन सचेत पारेको स्मरण गर्नुहुँदै सहकारीले महिला सशक्तिकरण, आदर निकेतन, शीत भण्डारन, सदस्यको व्यवसाय अनुगमन तथा विविध बिषयमा अनुसन्धानका कार्यहरु गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले न्यून आयका सदस्यहरु मिलेर वृहत्त वित्तीय सेवाको माध्यम बन्न सिद्धि गणेश सफल भएको र भक्तपुरमा समुदायमा आधारित, सदस्य केन्द्रीत र सेवा भावको सहकारीको विकासमा संस्थाको योगदान रहेको धारणा राख्नुभयो ।
संस्थाका पूर्व अध्यक्ष कृष्णगोविन्द लाखाजुले सामाजिक र राजनीतिक रुपमा सचेत संस्थापकहरुका कारण संस्थालाई सहि दिशाबोध दिन सकिएको धारणा राख्नुहुँदै संस्थाले स्वास्थ्य, शिक्षा, खेलकुद, मोहिलाई जग्गाधनि बनाउने लगायतका कार्यहरुमा योगदान पु¥याउन सफल रहेको छ भन्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष हरिरत्न गोर्खालीले सिद्धि गणेश स्थानीय युवा तथा प्रौढहरुको एकताको प्रतिकका रुपमा स्थापना भएको र स–सानो बचत संकलनबाट शुरु भएकोले सफल भएको विचार राख्नुभयो ।
संस्थाका अध्यक्ष राजन लाखाजुले सभापतिको आसनबाट बोल्नुहुँदै स्थापना दिवस एक प्रशिक्षण कक्षाका रुपमा भएको धारणा राख्नुहुँदै कारोना भाइरस नियन्त्रणमा भनपासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले धन्यावद र कोषाध्यक्ष इश्वरमान दुमरुले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव रुद्र नारायण लाखाले गर्नुभएको थियो ।
२०५१ साल पुस २९ गते स्थानीय चोर्चा टोलका ३१ जना संस्थापकहरुले मासिक सय रुपैयाँ बचत गर्दै शुरु भएको यस संस्था हाल १५०१२ भन्दा बढी सदस्यहरु र २ अर्व २० करोड भन्दा बढी कूल सम्पत्ति निर्माण गरी देशकै उत्कृष्ट संस्थाहरुमध्ये एक संस्थाको रुपमा अगाडि बढिरहेको छ ।