सिद्धि गणेश साकोसको २६ औं साधारणसभा सम्पन्न

२५ पुस, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को पुस ११ गतेबाट शुरु भएको २६ औं बार्षिक साधारणसभा कार्यक्रम बागमति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि गोसाईंले पूँजीवादी समाजले व्यक्तिलाई लोभ लालचमा फसाउने हुँदा सहकारी संस्थाका सञ्चालकले आफुलाई र सदस्य समुदायलाई त्यस्तो खरावीबाट बचाउनुपर्नेमा जोड दिनुहुँदै बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाले विगतका साहुवर्ग, खान्दानी वर्ग र सम्भ्रान्तवर्गको विकास गर्ने बाटोतिर लाग्न नहुनेमा सचेत पार्नुभयो । उहाँले सिद्धि गणेश साकोसले सम्भावित दुर्घटना र विचलनबाट आफुलाई बचाई अझै परिपक्वता देखाएर जनता र समुदायको आत्मिय र विश्वासिलो मित्र बन्नुपर्छ भन्नुभयो ।
उहाँले नेकपा आफुलाई कम्युनिष्ट भनेर द्रव्यमोह, पदलोभ जस्ता गैह्र कम्युनिष्ट चरित्रका कारण आफु र देशलाई नै पतन गर्नेतिर अगाडि बढेको र प्रमुख प्रतिपक्षको धर्म छोडेर नेपाली कांग्रेसले भागबण्डाको राजनीति गरेकोले नेपाली जनताले आज यो दुर्घटनाको सामना गर्नुपरेको चर्चा गर्नुुहुँदै पद तथा आर्थिक लेनदेनमा लिप्त पार्टि र नेताहरुको घेराबन्दीमा परेको सरकारसँग संसद विघटन गर्नुबाहेक अर्काे विकल्प नभएको हुँदा नेमकिपा संसद विघटनको पक्षमा रहेको धारणा दिनुभयो ।
भनपाको प्रतिनिधि ७ नं. का वडा सदस्य हरिरत्न गोर्खालीले संस्थाले कारोना संक्रमण नियन्त्रणका लागि भनपालाई हस्तान्तरण गरेको ठूलो सहयोगले अन्य संस्थाहरुलाई पनि सहयोग गर्न अभिप्रेरित गरेको धारणा राख्नुुहुँदै सहकारीले रासायनिक मलको विक्री वितरण नाफाका लागि नभइ सेवाका लागि गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले १५ दिन अगाडिबाट सदस्यहरुलाई उपस्थिति गराई प्रतिवेदन वितरण गर्दा पनि सदस्यहरुबाट निकै कममात्र सुझाव आएको तथ्य जानकारी दिनुहुँदै संस्थाप्रति सदस्यको यस्तो नैराश्यताले सञ्चालकहरुको स्वच्छन्दता विकास हुने खतरा औल्याउनुभयो ।
कार्यक्रमको सभापतिको आसनबाट बोल्नुहुँदै संस्थाका अध्यक्ष राजन लाखाजुले प्रतिकुल अवस्थामा सदस्य र समुदाय प्रति संस्थाको दायित्व बढेको महशुस गर्दै सदस्य सेवामा निरन्तरता दिएको र संस्थाको समुदाय विकास कोषको २० लाख रुपैयाँ भनपाद्वारा सञ्चालित एकान्तवास केन्द्रका लागि प्रदान गरेको जानकारी दिनुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले आफ्नो स्वागत मन्तव्यमा संस्थाहरुले बचत तथा ऋण कारोवारमा मात्र सीमित नभई विशिष्टिकृत सहकारी संघ गठन गर्दै समुदाय तथा सदस्यको जीवनस्तर उकास्न उत्पादनमूलक तथा सेवामूलक क्षेत्रमा लगानी गर्न सकिने कानूनी अवस्था उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले सहकारी संस्थालाई बेचबिखन गरिने व्यापारिक वस्तुका रुपमा लिने प्रवृत्ति हावी भएको धारणा राख्नुहुँदै संरक्षित पूँजी फिर्ता कोषको रकम रचनात्मक रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सञ्चालक पञ्चरत्न सैंजुले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाको आ.व. २०७६÷०७७ को प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा प्रतिवेदन क्रमशः सञ्चालक राजाराम दुमरु, कोषाध्यक्ष इश्वरमान दुमरु र लेखा समितिका संयोजक राम प्रसाद लाखाजुले प्रस्तुत गर्नुभएको थियो ।
पुस १० गते सम्मका १५०१२ सदस्यमध्ये १२५४८ अर्थात ८३.५९ प्रतिशत सदस्य उपस्थित रहेको उक्त साधारणसाले प्रस्तुत प्रतिवेदनहरु पारित गर्नुका साथै चालु आ.व. २०७७÷०७८ का लागि श्रोत तथा उपयोग तर्फ २ अर्व ४२ करोड र आयव्यय तर्फ २४ करोड २० लाख अनुमाणित बजेट पनि पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published.