विशिष्टिकृत सहकारी संघ गठन
१२ पुष, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारी ऐन तथा नियमावलीमा विशिष्टिकृत सहकारी संघ गठन तथा संचालन सम्भाव्यता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सचिव एवं माननीय सांसद प्रेम सुवालले आयात प्रतिस्थापन हुने उत्पादमूलक क्षेत्रमा सहकारी संस्थाहरुले पूँजी परिचालन गर्नुपर्नेमा जोड दिनुहुँदै सामुहिक रुपमा सहकारी संस्थाहरु उत्पादनमूलक एवं रोजगारीमूलक क्षेत्रमा अगाडि बढ्न खोज्नु समाजकालागि हितकर हुन्छ भन्नुभयो ।
काठमाण्डौं उपत्यकामा थप शहर विकास गर्ने काठमाण्डौं विकास प्राधिकरणको अवधारणाले थप असन्तुलित विकास हुनेमा सचेत पार्नुहुँदै अव्यवस्थित र घना बस्तीले काठमाण्डौं उपत्यकामा खानेपानी, फोहोर व्यवस्थापन, वातावरण लगायतका थुप्रै ठूलो समस्याहरु देखापर्ने र उपत्यका मानव स्वास्थ्यका लागि अनुपयुक्त हुने धारणा राख्नुभयो ।
कार्यक्रममा सहकारी अध्ययन समाज, नेपालका महेन्द्र बखुन्छेंले सहकारी संस्थाहरुले सामाजिक भावनाले पनि कार्य गर्नुपर्छ भन्नुभयो । विशिष्टिकृत सहकारी संघ गठन अध्ययन कार्यदलका संयोजक राधेश्याम सुवालले एक अध्ययनबाट भक्तपुरको केही संस्थाहरुको ४० करोड भन्दा बढी जगेडा कोष रहेको जानकारी गराउँदै व्यावसायिक रुपमा संघ संचालन सम्भव छ भन्नुभयो ।
संस्थाका अध्यक्ष राजन लाखाजुले सभापतिको आसनबाट हरेक नयाँ काममा चुनौति हुने धारणा राख्नुहुँदै संस्थाको निश्चित संघ गठन गर्ने पहललाई सहभागी संस्थाहरुले सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले संघीय र प्रदेश सहकारी ऐन तथा नियमावलीमा २५ वटा संस्थाहरु मिलेर १ करोड शेयर पूँजी कृषि, शीत भण्डार, पर्यटन लगायतका विशिष्टिकृत संघ गठन र संचालन गर्न सकिने व्यवस्थाको जानकारी गराउनु भएको उक्त कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले गर्नु भएको थियो ।
अन्तरक्रियामा भक्तपुर साकोसका बलराम प्रजापति, संगम साकोसका कृष्णगोपाल छुस्याकी, लोकेश्वर साकोसका प्रणेश बाटी, झीगु ख्वप साकोसका बलराम गोर्साईं, सुनिल सुवाल लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।