ज्येष्ठ सदस्य सम्मान कार्यक्रम(२०७९ चैत्र १३)

ज्येष्ठ सदस्य सम्मान कार्यक्रम

नेमकिपा अध्यक्ष विजुक्छेंद्धारा एक सय १५ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सोमबार एक सय १५ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्नुभएको छ । सिद्धि गणेश वचत तथा ऋण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको आयोजनामा भएको ज्येष्ठ सदस्य सम्मान कार्यक्रममा अध्यक्ष विजुक्छेंले संस्थामा आवद्ध ती ज्येष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको हो । संस्थाले प्रत्येक वर्ष संस्थामा आवद्ध ७० वर्ष नाघेका ज्येष्ठ सदस्यहरुलाई वर्षमा एकपटक यसरी नै सम्मान गर्दै आएको जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले ज्येष्ठ सदस्यहरुको उचित स्याहारसुसारका लागि आदर निकेटनको आवश्यकताबारे चर्चा गर्नुभयो । अहिले परिवारका सदस्यहरु सवैजना व्यस्त रहने भएकाले परिवारका ज्येष्ठ सदस्यहरुलाई उचित स्याहारसुहार गर्ने समस्या भएको उहाँंले बताउनुभयो । त्यसकारण ज्येष्ठ सदस्यहरुको उचित स्याहारसुसारका लागि आदर निकेतन सञ्चालन गर्नुपर्नेमा उहाँंले जोड दिनुभयो ।
ज्येष्ठ सदस्यहरुलाई आफनो स्वास्थ्यप्रति गम्भीर हुन सचेत गराउनुहुँंदै उहाँंले चिकित्कसको निगरानीमा रहेर चिकित्सककै सल्लाह अनुसार अगाडि वढन सल्लाह दिनुभयो । चिकित्सकले औषधि खानुपर्छ भनेमा औषधि खान नहिच्किचाउनु होला, सुझाउनुभयो । उहाँंले आआफनो स्वास्थ्यप्रति सम्वेदनशिल भई औषधि उपचार गर्न पछि नपर्न सुझाब दिनुभयो । रोग लागिसकेपछि तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन हुन उहाँंले सवैलाई सुझाब दिनुभयो ।
कार्यक्रममा ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका संयोजक डा रत्नसुन्दर लासिवाले सहभागी ज्येष्ठ सदस्यहरुलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरुबारे जानकारी गराउनुभयो । उहाँंले समयमै उपचार गरे रोगको निदान हुने भन्दै यसतर्फ सवैजना ज्येष्ठ सदस्यहरुलाई सचेत रहन आग्रह गर्नुभयो । साथै निरोगी बन्नका लागि उचित खानपान संगै शारिरीक व्यायाम र खुशी हुन पनि त्यति नै जरुरी रहेको बारेमा जानकारी गराउनु भयो ।
संस्थाका अध्यक्ष रुद्रनारायण लाखाको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष विष्णुराम दुमरुले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव विष्णुप्रसाद दुमरुले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा ८० ज्येष्ठ सदस्यहरुले सामान्य स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा जनाइए अनुसार संस्थाले २०७० सालबाट ज्येष्ठ सदस्य सम्मान कार्यक्रम सुरु गरेको थियो । वर्षमा एक पटक गरी गतवर्षसम्म ६ सय ७१ ज्येष्ठ सदस्यलाई सम्मान गरिसकेको कार्यक्रममा जनाइयो । सोमबार थप एक सय १५ जनालाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.