२९औं स्थापना दिवसको अवसरमा बचतकर्ता बिच वर्तमान सहकारी अवस्था विषयमा अन्तरक्रिया कार्यक्रम(२०७९ माघ ४ गते)
बचतकर्ताहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
माघ ४, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा बचत उपसमितिको आयोजनामा संस्थाका बचतकर्ताहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले नाफामूखी सहकारी संस्थाले बचतकर्ताहरुबाट रकम संकलन गरी भौतिक संरचना निर्माण गर्ने गरेको र त्यस्ता संस्थाहरुले बचतकर्ताहरुको रकम जोखिममा पार्ने गरेको तर्फ सचेत गराउनुहुँदै समुदायमा आधारित र स्थानीय व्यक्तिहरुबाट सञ्चालित सहकारीमा कारोवार गर्न अनुरोध गर्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईंले संस्थाको अवधारणागत पक्षहरुसँगै पुस मसान्तसम्मको वित्तीय विवरण प्रस्तुत गर्नुहुँदै संस्थाले पुस मसान्तसम्ममा १६१२३ जना सदस्यबाट २ अर्व ६५ करोड ६८ लाखभन्दा बढीको सम्पत्ति निमार्ण गर्न सफल भएको जानकारी दिनुभयो ।
अन्तरक्रियाबाट प्राप्त सदस्यका जिज्ञासाहरुको जवाफ दिनुहुँदै आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति कृष्णगोविन्द लाखाजुले संस्थाले प्रदान गर्दै आएका सेवा सुविधाका सकारात्मक पक्ष र सुधारगर्नुपर्ने पक्षहरुबारे जानकारी लिन तथा सहकारी अभियानको वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले सहकारीका मूल्य मान्यता तथा ऐन कानून विपरित कार्य गर्ने २३१ वटा सहकारी संस्थाहरु हाल जोखिममा रहेको जानकारी दिनुहुँदै त्यस्ता सहकारी संकटमा पर्नुमा सञ्चालकहरुको बदमासीसँगै बचतकर्ताहरुको आर्थिक प्रलोभन पनि मुख्य कारक रहेको बताउनुभयो ।
४३ जना सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा उपसमिति सदस्य सुन्दर मानन्धरले स्वागत मन्तव्य दिनुभएको थियो भने सदस्य चिरीमैयाँ लाखाजुले पनि बोल्नुभएको थियो ।