सिद्धि गणेश साकोसको २९औं स्थापना दिवस सम्पन्न(2079 पुस २९ गते)

 

सिद्धि गणेश साकोसको २९औं स्थापना दिवस सम्पन्न
२९ पुस, भक्तपुर
भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २९औं स्थापना दिवस कार्यक्रम विभिन्न कार्यक्रमका साथ सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले पानसमा दीप प्रज्वलन गर्नुहुँदै उद्घाटन गर्नुभएको कार्यक्रममा हाल वित्तीय बजारमा देखिएको तरलता संकुचन वित्तीय संस्थाहरुले घरजग्गा, सवारी साधनजस्ता अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्नुको नतिजा रहेको संकेत गर्नुहुँदै वित्तीय संस्थाहरुले उत्पादनमूलक तथा रोजगारीमूलक क्षेत्रमा लगानी गरी समाज तथा देशलाई आत्मनिर्भरताको बाटोमा लानुपर्नेमा जोड दिनुभयो ।
उहाँले सिद्धि गणेश साकोस २९ बर्षको संस्था सञ्चालनको अनुभवबाट सफल तथा देश विदेशका लागि एक नमूना तथा अध्ययन योग्य संस्थाको रुपमा रहेको र सफलतासँगै चुनौतिहरु पनि थपिँदै जाने भएकोले थप सर्तकता अपनाई अगाडि बढ्नुपर्छ भन्नुभयो ।
सरकार तथा सत्तासिन दललाई निरन्तर रुपमा सचेत गर्ने प्रमुख दायित्व प्रतिपक्षको रहने तर नेपाली कांग्रसले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको कारण प्रमुख प्रतिपक्षका लागि योग्य नभएको भन्नुहुँदै संसदमा नेमकिपाले जहिले पनि प्रखर प्रतिपक्षको भूकिा निभाउँदै आएको र अहिले कानूनी र व्यवहारीक दुवै पक्षबाट प्रमुख प्रतिक्षको लागि योग्य रहेको तर राजनीतिक चलखेलले उक्त जिम्मेवारी पाउनेमा शंका व्यक्त गर्नुभयो ।
उहाँले पूँजीवादी व्यवस्थाले व्यक्ति विशेष तथा अल्पकालिन फाइदाका लागि कार्य गर्छ तर कम्प्युनिष्ट व्यवस्थाले मजदुर तथा सर्वहारा वर्ग र दिर्घकालिन फाइदाका लागि कार्य गर्ने भएकोले पूँजीवादी व्यवस्था भन्दा कम्प्युनिष्ट व्यवस्था राम्रो रहेको भन्नुहुँदै नेमकिपाले समाजवादी व्यवस्था पछ्याउँदै अघि बढेको र १०० बर्षसम्मको स्पष्ट रुपरेखा तयार गरी अघि बढीरहेको छ भन्नुभयो । उहाँले भौतिक संरचनाले मात्र संस्थाको गुणस्तर निर्धारण नहुने भन्नुहुँदै संस्थामा आवद्ध व्यक्तिहरुको मिहिनेत, इमान्दारिता, अनुसाशन र पादर्शिता लगायतका पक्षले निर्धाण गर्छ भन्नुभयो ।
कार्यक्रका अतिथि भनपा ७ का वडाध्यक्ष उकेश कवांले वर्तमान समयमा देशको अर्थतन्त्र बैकले भन्दा पनि सहकारी क्षेत्रले धानेको र बैक नपुगेका विकट ठाउँहरुमा सहकारीले वित्तीय सेवा प्रदान गरेको भन्नुहुँदै सहकारीले वित्तीय कारोवार बाहेका साँस्कृतिक तथा सामाजिक कार्यहरु पनि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बहुउद्देशीय सहकारी संस्थाहरुमा धेरै विकृती तथा विसंगती रहेको हुनाले भनपाले नगरमा सञ्चालनको अनुमति नदिएको तर बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यबाट संकलित रकम आर्थिक प्रलोभनमा परि बहुउद्देशीय सहकारी संस्थाहरुमा जम्मा गर्ने चलन बढीरहेकोमा सहभागीहरुमा सचेत पार्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले २०५५ सालमा सहकारी अभियानमा देखिएका विकृतीहरु हटाउने उद्देश्यका साथ र सिद्धि गणेश साकोसले आर्जन गरेका ज्ञान तथा सीपलाई अरु सहकारीमा बाँड्ने उद्देश्यका साथ २०६१ बैशाख २१ गते जिल्ला संघको स्थापना भएको जानकारी दिनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संस्था सञ्चालनको क्रममा भएका प्रतिनिधिमूलक साधारणसभा, क्षेत्रगत साधारणसभा, अनिवार्य शिक्षा शिविर र संरक्षित पूँजी फिर्ता कोष रकम जस्ता असल अभ्यासहरु सहकारी ऐन तथा मापदण्डमा समावेश गरिनु सिद्धि गणेश साकोसको उपलब्धि भएको र सोको अध्ययनका लागि देशभित्र बाट नभई विदेशबाट समेत आउने गरेको जानकारी दिनुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष राजन लाखाजुले विधिवत रुपमा संस्था २०५१ माघ १७ गते स्थापना भएपनि स्थापनका क्रममा पुस २९ गते प्राथमिक भेला भएको मितिलाई स्थापना दिवसको रुपमा मनाउँदै आइरहेको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले तात्कालिन समयमा दैनिक फजुल खर्च कटाएर बचत गर्ने बानि बसाल्ने उद्देश्यका साथ ३१ जना राजनीतिक रुपमा सचेत समाजसेवामा सक्रिय युवाहरुबाट सिद्धि गणेश साकोसको स्थापना गरी धेरै उद्योगि तथा आत्मनिर्भर सदस्यहरु निर्माण गर्न सफल भएको जानकारी दिनुभयो ।
सञ्चालक समितिका कोषाध्यक्ष जयराम गोर्खाली, उपाध्यक्ष विष्णुराम दुमरु र सञ्चालक विष्णुप्रसाद दुमरुले क्रमशः स्वागत मन्तव्य, धन्यावाद ज्ञापन मन्तव्य तथा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.