एकमहिने मादल बजाउने तालिम उद्घाटन

१६ श्रावण, भक्तपुर ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सेवाकेन्द्र व्यवस्थापन उपसमितिद्वारा आयोजित एकमहिने मादल बजाउने तालिमको उद्घाटन संस्थाका अध्यक्ष राजन लाखाजुबाट प्रशिक्षक राजकुमार मानन्धरलाई मादल हस्तान्तरण गरी गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष लाखाजुले संस्थामा परम्परागत बाजा तथा वाद्यवादनसँग सम्बन्धित तालिमको धेरै माग आउने गरेको र मादल बजाउने तालिममा सदस्यहरुको सहभागीताबाट उत्साह मिलेको भन्नुहुँदै तालिमको सफलता धेरै हदसम्म प्रशिक्षार्थीहरुको सिकाई तथा ज्ञान आर्जनले निर्धारण गर्ने भएकोले लगन एवं मिहिनेतकासाथ तालिममा सहभागी हुन अनुरोध गर्नुभयो ।
उहाँले “सहकारी संस्था समुदायको साथ र सहयोगमा सञ्चालन हुने भएकोले संस्थाले सामाजिक दायित्व वहन गर्दै समुदाय र सहकारी संस्थाबीच राम्रो सम्बन्ध कायम गरी अगाडि बढेमा संस्था दिगो हुन्छ” भन्नुभयो । साथै उहाँले हाल बजारमा प्रदेश कार्यालयमा मात्र दर्ता गरी स्थानीय निकायमा स्वीकृती वेगर धेरै बहुउद्देशीय सहकारी संस्थाहरु सञ्चालनमा रहेको र त्यस्ता संस्थाहरुको आर्थिक तथा भौतिक प्रलोभनमा नपरी समुदायमा आधारीत संस्थामा कारोवार गरी आर्थिक रुपमा सुरक्षित हुन सहभागीहरुलाई सचेत पार्नुभयो ।
संस्थाका का.मू.व्यवस्थापक शिला गोर्साईले परम्परागत बाजागाजा तथा नृत्य साँस्कृतिक भक्तपुर नगरको एक अभिन्न अंग रहेको र सेवाकेन्द्र उपसमितिले साँस्कृतिक वाद्यवादन सम्बन्धि तालिम दिनु सराहनीय कार्य भएको भन्नुहुँदै आ.व. २०७८/०७९ मा १५८०४ जना सदस्यहरुबाट २ अर्व ५५ करोड २९ लाख ३६ हजारको कुल सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी दिनुभयो ।
एक महिने तालिमका प्रशिक्षक मानन्धरले वाद्यवादन, गीत तथा नृत्य संगीतको विभिन्न स्वरुपहरु भएको र कुनै पनि सँस्कृती संगीत विना पुरा नहुने भन्नुहुँदै मादल प्राचिन वाद्य यन्त्र मध्ये एक रहेको र लोकसंगित तथा मौलिक संगितको एक अभिन्न अंग एवं लोकप्रिय वाद्य यन्त्र रहेको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवं सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक पञ्चरत्न सैंजुले जिल्लाका पश्चिम भेगका सदस्यहरुलाई सेवा दिने उद्देश्यकासाथ सञ्चालित तेखापुखु सेवाकेन्द्रले आर्थिक बर्ष२०७८/०७९ मा ५२ करोड बराबरको आर्थिक कारोवार गरेको र सेवाकेन्द्र मार्फ ८४ जनाले नयाँ सदस्यता लिएको जानकारी दिनहुँदै संस्थाको गतिविधिहरुमा सक्रिय सहभागितका लागि सदस्यहरुमा अनुरोध गर्नुभयो ।
२८ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको उद्घाटन कार्यक्रममा उपसमितका सचिव राधेश्याम सैंजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.