संस्थाको ३०औं वार्षिक साधारण सभा(क्षेत्रगत) । २०८१ असोज १८
![](http://sgsaccos.com.np/wp-content/uploads/2024/10/IMG_0500.jpg)
सिद्धि गणेशको साधारणसभा क्षेत्र नं ३ र ४
भक्तपुर । सिद्धि गणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुर क्षेत्र नं ३ र ४ को ३० औ वार्षिक साधारणसभा स्टार बैक्वेट कमलविनायक भक्तपुरमा शुक्रबार सम्पन्न भयो ।
साधारणसभाको उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय साँंसद प्रेम सुवालले सहकारी संस्था कृषि र घरेलु उद्योगलाई उकास्ने हेतुले स्थापना भएको हुनुपर्ने बताउनुभयो । त्यसैले बचतकर्ताहरुले ब्याजको लोभमा नभई जथाभावी सहकारीमा बचत नगर्न सांसद सुवाल सुझाब दिनुभयो । साथै पछिल्लो समय भागेका सहकारी संस्थाका संचालकहरुको व्यक्तिगत सम्पत्ति बेचेर पनि बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने उहाँंले बताउनुभयो ।
सिद्धि गणेश साकोसजस्ता राम्रा संस्थाहरुले बचतकर्ताहरुका बालबालिकालाई अंग्रजी, विज्ञान, गणित तथा नेपालीका एकदम वरिष्ठ शिक्षक ल्याएर पढाउन सके अझ राम्रो हुने सांसद सुवालले बताउनुभयो । सानैदेखि बालबालिकालाई राम्रो शिक्षा दिनसकेमा विदेशिनु नपर्ने उहाले बताउनुभयो । साथै दशैमा सन्तुलित खानपान गर्न उहाँंले सचेत पार्नुभयो ।
साधारणसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं बागमती प्रदेशका सांसद सृजना सैंजूले सहकारी संस्थाहरुले आदर निकेतन स्थापना गर्नुपर्ने बताउँनुभयो । अहिले घरका महिलाहरुले बाहिर गएर जागिर गर्नुपर्ने भएकाले आदर निकेतन अहिलेको आवश्यकता भएको उहाँंले बताउनुभयो । उहाहरुले घरमा आमाबुवाको हेरचाह गर्न जागिर छोड्नुपर्ने अवस्था छ, उहाँंले भन्नुभयो, त्यसैले महिला दिदीबहिनीहरुको जागिर पनि नछुतोस र आमाबुवाले पनि राम्रो हेरचाह पाउने आदर निकेतनको आवश्यकता रहेको हो ।
एहाले अहिले हाम्रो देशमा पनि केही वर्षमा नै बृद्धवृद्धाहरु मात्र रहने अवस्था आउनसक्ने बताउनुभयो । अहिले दैनिक ७ हजार हाराहारीमा युवाहरु विदेशीने गरको तथ्यांक पेश गर्दै उहाँले खासगरी यो राज्यले सोच्नुपर्ने विषय रहेको तर राज्यले वेवास्ताले गरेको हामीले सोच्नेपर्ने भएको बताउनुभयो ।
बाढापहिरोका कारण १८ खर्वको क्षति भएको उहाँ बताउँछ । यसको मुख्य कारण अबैधानिक रुपमा क्रसर चलाएकोले भएको उहाँले बताउँनुभयो ।
भक्तपुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष लक्ष्मीप्रसाद ह्रयौमिखामाले सहकारीको साधारण सभामा उपस्थिति भत्ता लिनको लागि मात्र नभई संस्थाको कार्यक्रममा सहभागी भएर संस्थाको बारेमा बझ्नुपर्ने बताउनुभयो । कुनै पनि सहकारी संस्थामा बचत गर्नुअघि संस्थाको संचालन समितिको बारेमा राम्ररी बुझन्पर्ने उहाँले बताउँनुभयो । उच्च व्याजको प्रलोभनमा जभाभावी बचत गर्न नहुने उहाँले बताउनुभयो ।
मित्र संस्थाको तर्फबाट लसकुस साकोसका अध्यक्ष रोशन मैंया सुवालले बचतकर्ताहरुले लाभांश र व्याज कति भन्ने भन्दा पनि संस्थाको अवस्था कस्तो छ भन्ने विषयमा ध्यानाकर्षण गर्नुपर्ने बताउँनुभयो । किनभने कतिपय संस्थाहरु बचत गर्नलाई नभई लुट्नको लागि विकास स्थापना हुने उहाँले बताउँनुभयो ।
सिद्धि गणेश साकोसका पूर्व अध्यक्ष एवं सञ्चालक सदस्य हरिरत्न गोर्खालीले सिद्धि गणेश साकोस समाजिक एवंम राम्रो ठाउँमा लगानी भएकोले हाम्रो सहकारी नडुब्ने दाबी गर्नुभएको छ । अहिले जति पनि सहकारी डुबेका छन् तिनीहरु सहकारीको अनियमितताको कारण डुबेको उहाँले बताउँनुभयो । सहकारीको बारे केही सुझाव दिन उहाँले अनुरोध गनुभयो ।
संस्थाका उपाध्यक्ष विष्णु राम दुमरुको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन संस्थाका सञ्चालक सदस्य राधेश्याम सैंजुले गर्नुभएको थियो ।
सिद्धि गणेशको साधारणसभा क्षेत्र नं ५ र ६
भक्तपुर । सिद्धि गणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको ३० औ साधारणसभा (क्षेत्रगत) क्षेत्र नं ५ र ६ को साधारणसभा महेश्वरी वैक्वेट थुसाचा भक्तपुरमा शुक्रबार सम्पन्न भयो । साधारणसभाको उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं वागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले सहकारी संस्था सदस्यहरुले पनि सहकारीमा भएको वदमासीको विरोध गर्नुपर्ने बताउनुभयो । सहकारी संस्थामा भएको वेथिति हामी सहकारीकर्मी भएकैले विरोध गर्नु हुँंदैन भन्ने मानसिकता गलत भएको उहाँंले बताउनुभयो ।
उहाँंले दुई तिहाईको सरकार वाढीपहिरोले नांंगिएको बताउनुभयो । दुई तिहाईको सरकारले वाढीपहिरोमा तीन सय भन्दा वढी नेपाली जनताको अनाहकमा ज्यान गए पनि केही गर्न नसकेको उहाँंले बताउनुभयो । उहाँंले जनताको जिउ धनको सुरक्षा लिने गृहमन्त्री ग्वाज्य (लाटो) जस्तै भएको बताउनुभयो । गृहमन्त्री नामले लेखक भए पनि व्यवहारमा वाढीपहिरोमा केही गर्न नसक्ने निरीह भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजूले भक्तपुरमा पनि सहकारी संस्थाहरुमा समस्या देखिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँंले सहकारी ठगहरुमा कांग्रेस, एमाले र माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरु नै रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं ७ का अध्यक्ष एवं पूर्व वडा अध्यक्ष कृष्णगोविन्द खाइजूले सहकारी निम्न वर्गको जनताका लागि हुनुपर्ने बताउनुभयो । सिद्धि कृषि सहकारी संस्थाका अध्यक्ष पुण्यराम दुमरुले अहिलेका सरकारहरु किसानलाई चाहिने रासायनिक मलसम्म दिन नसक्ने निक्कमा सरकार भएको बताउनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्र दुमरु, मित्र संस्थाकोतर्फबाट युवा साकोसका प्रकाश वास्तोलाले शुभकामना व्यक्त गर्नुभयो ।
साधारणसभामा संस्थामा सदस्यहरुका एसइई र दस जोड दुई कक्षामा उत्कृष्ट अक प्राप्त गर्न सफल १२ जना विद्यार्थीहरुलाई प्रशंशापत्र वितरण गरिएको थियो । यसअघि कार्यक्रमको उदघाटन प्रमुख अतिथि नेमकिपाका सदस्य एवं बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले पानसमा दियो बालेर गर्नुभएको थियो । संस्थाका अध्यक्ष रुद्र नारायण लाखाको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत सञ्चालक सदस्य राजन लाखाजु तथा सञ्चालन संस्थाका व्यवस्थापक शिला गोसाईले गर्नुभएको थियो ।
सिद्धि गणेश साधारणसभा क्षेत्र नं. १ र २
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्था भनेको गरिब जनताका असल मित्र हुनुपर्ने बताउनुभएको छ । सहकारी संस्थाहरुले जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भूमिका खेल्न सकिने उहाँले बताउनुभयो ।
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को ३० औं वार्षिक साधारणसभा (क्षेत्र नं. १ र २ को संयुक्त क्षेत्रगत) को शुक्रबार उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले आर्थिक गतिविधिको साथै सदस्यहरूको लागि विभिन्न सीपमूलक तालिमहरू, सरसफाइ गतिविधिहरू र युवाहरूको सक्रियता बढाउन रचनात्मक गतिविधि गर्नु पनि आवश्यक भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले सुरुदेखि नै बहुउद्देश्यीय सहकारी संस्थाहरु सञ्चालनमा रोक लगाउँदै आएको बताउ“दै उहाँले जनता सचेत भए संस्थाका सञ्चालकहरु सचेत र सतर्क रहने धारणा राख्नुभयो ।
भक्तपुर नपाले यहाँ सञ्चालित सहकारी संस्थाहरुमा नियमित अनुगमन गर्दै आएको बताउँदै उहाँले सहकारीका सञ्चालकहरुमा इमानदारिता र आर्थिक अनुशासन अपरिहार्य भएको बताउनुभयो ।
सार्वजनिक एवम् सरकारी जग्गा संरक्षण गर्नु स्थानीय तहको कर्तव्य भएको बताउँदै उहाँले भक्तपुर नपाले सार्वजनिक जग्गा संरक्षणकै क्रममा सल्लाघारीस्थित १०८ रोपनी जग्गालाई संरक्षण र व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरको आजको विकासमा धेरै अग्रजहरुको उल्लेखनीय भूमिका रहेको बताउँदै उहाँले शिक्षामा गरेको लगानीको प्रतिफलस्वरुप आज भक्तपुर ज्ञानविज्ञानको केन्द्र बन्न सफल भएको बताउनुभयो ।
कोभिड महामारीको संकटमा भक्तपुरका संघ संस्थाहरुले गरेको सहयोगको लागि भक्तपुर नपाको तर्फबाट आभार प्रकट गर्दै प्रमुख प्रजापतिले नगरबासी जनतालाई भक्तपुर नपाले निःशुल्क अक्सिजन र रगत उपलब्ध गराइ जनताको सेवा दिँदै आएको बताउनुभयो ।
साकोसका पूर्व अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी संस्थाहरुले साधारणसभा सञ्चालन गर्नुको उद्देश्यबारे प्रष्ट पार्दै २०५१ सालमा ३१ जनाको समूहले स्थापना भएको सिद्धिगणेश साकोसमा हाल १६ हजार भन्दा बढी सदस्यहरु भएको बताउनुभयो ।
साकोसले सदस्य वृद्धिसँगसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय कार्यहरु जस्तै स्वास्थ्य केन्द्र, तालिम हल, स्वास्थ्य शिविर आदि सञ्चालन गर्दै व्यापक जनताको हित हुने गतिविधिलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले साधारणसभालाई उपस्थिति भत्ता र खाजा खर्च लिने दिनको रुपमा नभई सहकारीको आर्थिक अवस्थाबारे सदस्यहरुलाई जानकार गराउने उद्देश्यले सञ्चालन हुन जरुरी रहेको बताउनुभयो । भक्तपुर नपाले बजार अनुगमन गर्दै अखाद्य र म्याद नाघेका वस्तुहरुलाई नष्ट गर्दै सरोकारवालाहरुलाई आवश्यकताअनुसार दण्डजरिवानाहरु पनि गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला बचत संघका कोषाध्यक्ष कान्छाभक्त घजुले सहकारी क्षेत्रबाट भएका राम्रा र उदाहरणीय कार्यहरुको प्रचार कम मात्र हुने गरेको बताउँदै सहकारीमा जम्मा भएको रकम विना धितो सदस्यहरुलाई ऋण प्रवाह गर्दा सहकारी संस्थाहरु संकटग्रस्त हुने गरेको बताउनुभयो ।
सिद्धि गणेश साकोसका सचिव विष्णुप्रसाद दुमरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा छिमेकी संस्थाहरु लोकोश्वर बचत तथा ऋण सहकारी संस्थाका राजन जति, टोखास्थित मिर्मिरे साकोसका सचिव शैलेश डंगोलले सहकारी संस्थाहरुप्रति वितृष्ण फैलिएको समयमा भक्तपुरका समुदायमा आधारित सहकारी संस्थाहरुले उल्लेखनीय कार्यहरु गर्दै आएको र समाजवादी अवधारणाअनुसार सहकारी संस्थाहरु सञ्चालन हुनु जरुरी रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले असल बचतकर्ता र असल ऋणीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
संस्थाका सचिव बिष्णु प्रसाद दुमरुको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत सञ्चालक सदस्य कृष्ण गोविन्द लाखाजु तथा सञ्चालन संस्थाका सञ्चालक सदस्य रमेश दुमरुले गर्नुभएको थियो ।